Sajhamanch Archive

कांग्रेस गठबन्धनले आज झापामा कहाँ कहाँ चलायो चुनावी अभियान

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । प्रतिनिधि सभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धन दलका उम्मेदवार विश्वप्रकाश शर्मासहित गठबन्धन कार्यकर्ताहरुले बिहीबार मेचीनगर २, ५, १२ र भद्रपुर–९ मा घरदैलो कार्यक्रम गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उम्मेदवार शर्माले सम्बन्धित वडाका घर–घरमा पुगेर मतदातासँग मत मागेका हुन् । सो क्रममा स्थानीयबासीले विश्वप्रकाशलाई संसदमा पुर्याउने प्रतिबद्धता जनाउँदै स्थलगत समस्याहरु सुनाएका थिए ।

घरदैलो अभियानका क्रममा मेचीनगर २ बाहुनडाँगी र वडा नं. ५ क्षेत्रका बासिन्दाले हात्ती र सुकुम्बासी समस्या प्रमुख रहेको बताएका थिए । कृषकका समस्यासँगै स्थानीयस्तरमा विकास निर्माणको आवश्यकता बारे पनि शर्मालाई स्थानीयले जानकारी गराएका थिए ।

सो घरदैलो कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदवार गोपाल तामाङ लगायत गठबन्धनका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैगरी झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार कृष्णप्रसाद सिटौलाले भद्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा शक्तिले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

३–७३ अर्थात ३ वर्षमुनीका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क उपचार एवं युवाहरुलाई रोजगारीको अवसर सिर्जनाका लागि कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेका कार्यक्रम कार्यान्वयन गर्न गठबन्धनको जीत आवश्यक रहेको उनको भनाई थियो ।

चितामा पुगिसकेको राजतन्त्र पुनः नब्युतने दावी गर्दै सिटौलाले वर्तमान संवैधानिक ब्यवस्था बमोजिम राज्यबाट सुविधा लिएका ब्यक्तिले ब्यवस्थाको विरोध गरेर हिड्न नहुने धारणा राखेका थिए ।

सो कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेशसभा १ का उम्मेद्वार भूमिप्रसाद राजवंशीले पनि आफ्नो धारणा राखेका थिए ।

झापा क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका वडा नं. ४, गौरीगञ्ज गाउँपालिका वडा नं. १ को महाभारा, वडा नं. २ को कोरोबारी र गौरादह वडा नं. ९ को बैगुनधुरामा घरदैलो अभियान एवं कोणसभा सम्पन्न भएको छ ।

सो क्षेत्रका विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापा जिल्ला सभापति एवं गठबन्धनका साझा उम्मेद्वार लेउकुमार थेवेले झापा क्षेत्र नं. ४ को शैक्षिक विकासका लागि विद्यालय भवन निर्माण एवं स्तरोन्नति, स्वास्थ्य, नदी नियन्त्रण एवं सडक निर्माण र स्तरोन्नतिका लागि आफ्नो पहलमा करेडौं बजेट भित्राइएको जानकारी दिए ।

कोणसभामा झापा क्षेत्र नं. ४ प्रदेशसभा १ का उम्मेदवार झलकसिंह दर्लामीले पनि आफ्नो पहलमा भएका विकास निर्माणका योजनाहरुबारे मतदातालाई बताएका थिए ।

यसैबीच झापा क्षेत्र नं. २ अन्तरगत बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा पनि घरदैलो कार्यक्रम गरिएको छ । क्षेत्र नं. २ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार राना र क्षेत्र नं. २ प्रदेशसभा २ का उम्मेदवार खगेन्द्र मैनाली, समानुपातिक उम्मेदवार पम्फा विक तथा गठबन्धनका कार्यकर्ताहरुले वडा नं. ३ मा घरदैलो गरेका हुन् ।

यसैगरी क्षेत्र नं. २, प्रदेशसभा १ का उम्मेद्वार पुष्पराज पोखरेलसहित गठबन्धनका कार्यकर्ताहरुले बिर्तामोड वडा नं. ७ मा घरदैलो कार्यक्रम गरेका छन् ।

झापा क्षेत्र नं. ५ का लागि गठबन्धनका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेशसभा १ का उम्मेदवार गगन पुरी सहभागी गठबन्धनका कार्यकर्ताहरुले दमक नगरपालिकाको वडा नं. १ नं र ३ नं वडामा घरदैलो एवं कोणसभा कार्यक्रम गरेका छन् ।

वडा नं. १ र ३ का विभिन्न टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. अधिकारीले निर्वाचनमा सक्षम ब्यक्ति छान्न जनता समक्ष आह्वान गरे । नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादन क्षेत्रमा स्पष्ट योजनाहरु ल्याएको बताउँदै अधिकारीले स्थायित्व र विकासका लागि गठबन्धन उम्मेदवारलाई जिताउन अपील गरे ।

कार्यक्रममा प्रदेशसभा २ का उम्मेदवार गगन पुरीले पनि सम्बोधन गरेका थिए । यसैगरी क्षेत्र नं. ५ प्रदेशसभा १ का उम्मेदवार जीवन राईसहित गठबन्धनका कार्यकर्ताहरुले कमल गाउँपालिका वडा नं. १ मा घरदैलो अभियान गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *