Sajhamanch Archive

एनसिई नेपाल प्रदेश १ को संयोजकमा झापाका ओली सर्वसम्मत

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by .

झापा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) प्रदेश नम्बर १ को संयोजकमा झापाका निवर्तमान अध्यक्ष मोहनप्रसाद ओली सर्वसम्मत चयन भएका छन् ।

झापाको दमकमा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । एनसिई प्रदेश १ को सहसंयोजकमा मोरङका विनोद भण्डारी, सचिवमा मोरङकै पर्शुराम निरौला, कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्वसम्मत चयन भएका झापा अध्यक्ष अर्जुनकुमार पाठकले जानकारी दिएका छन् । त्यस्तै सदस्यहरुमा टीका सुवेदी (झापा) र दिनेशप्रसाद खनाल तेह्रथुम चयन भएका छन् ।

गैर सरकारी संस्थाको रुपमा काठमाडौंमा दर्ता भएको सो संस्थाले देशभरका ३६ वटामा जिल्लामा जिल्ला सञ्जाल र ७ वटा प्रदेश सञ्जाल गठन गरिसकेको छ । ती सञ्जालमार्फत शिक्षा क्षेत्रको विकासका लागि बहस, पैरवी र खोज अनुसन्धान गर्दै आइरहेको सो कार्यक्रममा जानकारी दिइएको छ ।

शिक्षा क्षत्रेको विकासका लागि समन्वय र सहकार्यमा सधैं विश्वास गर्ने सो संस्थाले आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका सवालहरु विषयमा प्रदेशस्तरीय छलफल कार्यक्रमका बीच नयाँ नेतृत्व चयन गरेको हो ।

‘अन्तर्राष्ट्रिय मान्यना अनुसार नेपाल सरकारले सार्वजनिक शिक्षालाई निःशुल्क बनाउनु पर्छ भन्ने विभिन्न सन्धी र महासन्धी स्वीकार गरिसकेको अवस्था र नेपालको संविधानमा समेत शिक्षालाई मौलिक हकमा समावेश गरिएको हुनाले विद्यालय तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्छ’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडीले भने ‘माद्यमिक तहको शिक्षालाई पनि निःशुल्क गरिनुपर्छ भनेर हामी नेपाल सरकारसँग अनुरोध गरिरहेका छौं ।’

सो कार्यक्रममा संस्थाले हालसम्म गरेका कार्यहरु बारेमा कार्यक्रम प्रबन्धक राम गैरेले कार्यपत्र प्रस्तुत गरेका थिए । दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका प्रमुख र उप्रप्रमुखहरु, पालिकाका शिक्षा शाखाका प्रमुखहरु र आसन्न निर्वाचनका उम्मेदवारहरु सहभागी गराइएको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल निवर्तमान केन्द्रीय सदस्य हेम खत्रीले सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित सहभागीलाई झापा जिल्ला अध्यक्ष अर्जुनकुमार पाठकले सौहार्दपूर्ण सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *