मतदाता फकाउन उम्मेदवारका अनेक आश्वासनः भारतीय जंगली हात्तीलाई सीमा मै रोक्ने अग्नि, विश्वप्रकाश भन्छन्– चिडियाखाना बनाउँछु
Published:
by .मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका मुख्य प्रतिष्पर्धी उम्मेदवारहरुले मतदाता फकाउन अनेकन गुलिया मन्तब्यहरु पस्किइरहेका छन् ।
वर्षौंदेखि भारतीय भूमिबाट नेपाल पसेर दुःख दिइरहने जंगली हात्तीको समस्या समाधानका लागि क्षेत्र नम्बर १ का जनतालाई उनीहरुले गुलिया आश्वासन बाँडिरहेको पाइन्छ ।
नेपाली कांग्रेसका महामन्त्री तथा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्माले भारतबाट नेपाल आएका हात्तीलाई चिडिया खाना बनाएर यतै राख्ने आश्वासन दिएका छन् । चुनावी घरदैलो कार्यक्रम लिएर हात्ती प्रभावित विभिन्न ठाउँमा भाषण गर्दै महामन्त्री शर्माले हात्ती रोक्ने एउटै विकल्प चिडियाखानामा राख्नुपर्ने बताएका हुन् । म त्यो काम गराउँछु शर्माले भनेका छन् ।
अर्कोतर्फ नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले चाहिँ भारतबाट आउने हात्तीलाई सीमामा नै रोक्नुपर्ने बताएका छन् । भारतबाट आउने जंगली हात्तीलाई नेपाल–भारतको सीमा क्षेत्रमा नै रोक्ने आफ्नो कार्यक्रमिक प्रतिबद्वता मतदाता समक्ष खरेलले जनाएका हुन् ।
भारतबाट सोझै बाहुनडाँगी क्षेत्रमा हुलका हुल आउने जंगली हात्तीलाई रोक्न मेची खोलामा तटबन्धन गर्नुपर्ने खरेलको भनाई छ ।
‘मेची खोलामा ठूलो लगानीमा मजवुत तटबन्धन गर्नसके दुईवटा फाइदा हुनेछ’ उनले भने– ‘एउटा भारतबाट आउने हात्ती रोक्न सकिन्छ । अर्को वर्षेनी आउने बाढीका कारण कटान हुँदै आएको खेतीबाली जोगाउन मद्दत पुग्नेछ ।’
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्जसमेत रहेका पूर्व कानून मन्त्री र महान्यायधिवक्ता खरेलले विभिन्न चुनावी सभामा हात्तीबाट पीडित जनता रातभर पनि जागै बस्नुपर्ने बिडम्बनाको अन्त्य गर्ने धारणा राखेका हुन् । हात्ती प्रभावित क्षेत्रका जनताको स्थायी समाधानका लागि अब बन्ने एमालेको बहुमतको सरकारले त्यो काम गर्ने खरेलको भनाई छ ।
Comments