सालबारी झिलको विकास कसरी कसले गर्यो ?
Published:
by .झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल ।
सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि यसको सुन्दरता अझ मनमोहक बनेको छ । त्यहाँको दृश्यले जो कोहीलाई आकर्षित गर्छ ।
जंगलको रुपमा मात्र हेरिने यस क्षेत्रलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरे आफैं अध्यक्ष बनेर यो रुपमा ल्याएका हुन् । सबैको साझा सम्पतिको रुपमा विकास गर्नका लागि अर्जुनधारा नगरपालिका कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन अहिले पनि घिमिरे लागिरहेका छन् ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा संघीय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट विनियोजन भएको ५० लाख रुपैयाँसहित ५५ लाख ९७ हजार ११६ रुपैयाँको लागतमा त्यहाँ वाटर फाउन्टेनको निर्माण गरिएको हो । जसको केही महिना अघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
घिमिरेकै पहलमा संगीतको धुनमा पानीको रंगिन फोहरा अवलोकन गर्न पोखरी नजिक पाँच हजार ५५७ वर्ग फिट प्यारापिट पनि निर्माण गरिएको छ । उक्त प्यारापिट प्रदेश सरकार पर्यटन मन्त्रालयको २० लाखसहित जम्मा २२ लाख ९० हजार १३३ रुपैयाँको लागतमा निर्माण गरिएको नेकपा एमालेका नेता तथा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले जानकारी दिएका छन् ।
उनकै नेतृत्वमा सालबारी झिलले अहिले यो स्वरुप पाएको हो । आफूले उम्मेदवारी दिएको क्षेत्रमा देवराजले के गरे भनेर प्रश्न गर्नेहरूका लागि यो सबैले देखेको काम दरिलो उदाहरण बन्न पुगेको छ । निरन्तर काममा लाग्ने घिमिरेको नेतृत्वमा भएको यो कामले उनको कामप्रतिको लगनशीलता स्पष्ट पारेको छ ।
न्याय, समानता र प्रजातन्त्रको बहाली गर्ने आन्दोलनको सिलसिलामा झापा र इलामको सीमानामा रहेको सुखानी जंगलमा २०२९ साल फागुन २१ गते शहादत प्राप्त गरेका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले उक्त उद्यानको निर्माण गरेको हो ।
२२ दशमलव ४ हेक्टर क्षेत्रफलमा रहेको उक्त उद्यानमा यसअघि पाँच शहीदको पूर्ण कदको शालिकसहितको उद्यान, डुंगा सयर, कछुवा उद्धार तथा संरक्षण केन्द्र, बाल उद्यान आदि निर्माण भइसकेको थियो । उद्यानमा म्यूजिकल कलर फाउन्टेन जडान भएपछि उद्यानले थप आकर्षण पाएको हो ।
योसँगै एमाले नेता घिमिरेले सो बेला शहीदहरुले सहादत प्राप्त गरेको स्थान झापा र इलामको सिमानामा रहेको सुखानीको विकासका लागिसमेत काम गरेका छन् । स्तम्भ निर्माणसँगै त्यहाँ अन्य विकासका कामसमेत भएका छन् । उनकै पहलमा मदन भण्डारी राजमार्ग मेचीनगर नगरपालिकाको बाहुनडाँगीदेखि निर्माण गर्ने निष्कर्शमा पुग्नु ठूलो उपलब्धी भएको घिमिरेले बताए ।
झलनाथ खनालले सो सडकलाई इलामतिर लाने भन्दै अवरोध गर्ने, मान्छे उकास्ने, कुकुर लगाइदिने लगायतका घटिया काम गरे पनि आफ्नो पहलमा बाटोको स्केच तयार भएको र कामले निरन्तरता पाएको एमाले नेता घिमिरेको दावी छ । उनले सालबारी झिलसँग जोडिने सबै सडकलाई कालोपत्रे गर्ने लक्ष्य रहेको बताएका छन् ।
Comments