सोलुखुम्बुका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए, आयोगद्वारा शोक व्यक्त
Published: (Updated: )
by .सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
जिल्लाको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिइन् ।
सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ ।
आयोगद्वारा शोक व्यक्त
यसैबीच निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक शोक विज्ञप्ती प्रकाशन गरी मृतक कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शर्माद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ, भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नं. ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्थामा र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको दुःखद् जानकारी प्राप्त भएको छ । निर्वाचन आयोग दिवंगत कर्मचारीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’
निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न निर्वाचन आयोगले नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आग्रह गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।
Comments