झापा १ : सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभामा शर्मा र प्रदेशसभामा तामाङ र एमाले तालमेलबाट बजगाई विजयी
Published:
by .मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
आज सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मतमात्र पाए । शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई जितेका हुन्।
यस्तै झापा १(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन कोइरालालाई पराजित गरेका हुन् ।
झापा १(२) मा चाहिँ एमाले तालमेलका उम्मेदवार राप्रपाका मेचीनगर समिति अध्यक्ष सबिना बजगाईं विजयी भएकी छन् । उनले सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बूलाई पराजित गरेकी हुन् ।
यसैबीच, झापा–१ मा उपविजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले विजेताहरुलाई बधाई दिएका छन् ।
आज साँझ एमालेका उम्मेद्वारद्वय खरेल र कोइरालाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनबाट विजयी शर्मा र तामाङसहित एमाले तालमेलबाट विजयी बजगाईलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
‘यसपटकको निर्वाचनमा यस क्षेत्रका जनताले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हामीलाई दोस्रो स्थानको मत दिनु भनेको हामीले आफ्ना कमी कमजोरी सच्याएर आगामी दिनमा पहिलो बन्नुपर्छ र त्यसका लागि यस घटनालाई शिक्षाको रुपमा ग्रहण गर्नुपर्दछ’ विज्ञप्तिमा भनिएको छ– ‘निरंकुशतन्त्र विरुद्ध लोकतन्त्र प्राप्ति र रक्षाका पक्षमा निरन्तर लाग्दै आएका हामी जनताको अभिमतलाई सदैव शिरोधार्य गर्दछौं ।’
एमाले उम्मेद्वारद्वय खरेल र कोइरालाले नेकपा एमालेलाई मत प्रदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने इमान्दार कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई हार्दिक आभार व्यक्त गरेका छन् ।
आगामी दिनमा झापा–१ का जनताको पक्षमा सदैव अग्रणी भूमिका निर्वाह गर्ने एमाले नेताद्वयको विज्ञप्तिमा उल्लेख छ ।
Comments