Sajhamanch Archive

आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । चेतनाको अभावमा आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित हुनु परिरहेको आज शनिबार आयोजित एक कार्यशालाका सहभागीले बताएका छन् ।

बिर्तामोडमा संवाद समूह झापाले आयोजना गरेको आदिवासी महिलासँग लैंङ्गिक हिंसा तथा शान्ति निर्माण विषयक कार्यशालामा सहभागीले शिक्षा र चेतनाको कमीले आदिवासी समुदायमा लैंङ्गिक हिंसाका घटना अझै कायम रहेको बताएका हुन् । उनीहरुले समुदायगत तथा परम्परागत संस्कारका कारण पनि आदिवासी समुदायबाट लैंङ्गिक हिंसाका घटनाहरु न्यूनीकरण हुन नसकेको बताए ।

कार्यक्रममा आदिवासी समुदाय राजवंशी र सन्थाल जातिका महिला सहभागी थिए । एभरेष्ट स्मार्ट स्कुलका प्रिन्सिपल पुष्पाञ्जली सिन्हा र संवाद सहजकर्ता कमला भट्टराईले लैंङ्गिक हिंसा, कानुनी व्यवस्था, शान्ति निर्माण तथा महिला सशक्तिकरणका विषय समेटिएका दुईवटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिर्तामोड नगर कार्यपालिका सदस्य तथा कोचिला महिला नेतृ शर्मिला राजवंशीले लैंङ्गिक हिंसा अन्त्यका लागि पुरुषको सकारात्मक र महत्वपूर्ण भूमिका आवश्यक रहेको तथा हिंसा विरुद्धको अभियान हरेक परिवार, टोलबाट थाल्नुपर्ने बताइन् ।

सहभागी नेपाल सन्थाल महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष मन्दिरा किस्कुले सन्थाल जातिका छोरी–बुहारीले सामान्य विषयवस्तुमा पनि हिंसाको सामना गर्नु परिरहेको यथार्थ पस्किइन् । यस्तै अर्का सहभागी पूर्णिमा राजवंशीले आदिवासी समुदायमा अझै पनि छोराछोरीको विषयमा विभेद गर्ने, आमाले सुरक्षित मातृत्वको अवस्थाभन्दा परिवारको चाहाना अनुसार सन्तान जन्माउनु पर्ने अवस्था कायमै रहेको अनुभव सुनाइन् ।

सहभागी शर्मिला सोरेन र मिना मुर्मुले सन्थाल समुदायका छोरीहरुले विद्यालय तहको शिक्षा हासिल गर्न पनि परिवारमा संघर्ष तथा विद्रोह गर्नुपर्ने अवस्था रहेको कहालीलाग्दो वर्तमानको यथार्थ पस्किएका थिए ।

उनीहरुले घर परिवारमा महिलाहरु विभिन्न हिंसामा परिरहेको भए पनि पर्याप्त जानकारी र चेतनाको अभावमा त्यस विरुद्ध आवाज उठाउन नसकिरहेको बताए । आफ्नो समुदायमा हुने लैंङ्गिक हिंसा अन्त्यका लागि सचेतना तथा कानूनी उपचारको माध्यमबाट भूमिका निर्वाह गर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रमका सहभागीले अबका दिनमा लैंङ्गिक हिंसा तथा विभेद विरुद्ध सशक्तरुपमा अग्रसर हुँदै समाजमा शान्ति निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रम सम्वाद सहजकर्ता कमला भट्टराईले सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *