चासोक ताङ्गनामको उल्लास जताततै
Published:
by .झापा । किरातीहरुको एउटा महत्वपूर्ण पर्व चासोक ताङ्गनाम र उधौलीको अवसरमा बिहीबार देशभर सांस्कृतिक कार्यक्रम र पूजा गरी मनाइएको छ । सोही क्रममा झापाका विभिन्न स्थानका खोला किनार र वन जंगलमा आफ्ना कुल देउताहरुको पूजा गरी चासोक ताङ्गनाम मनाइएको छ ।
कनकाई नगरपालिका ७ दुर्गापुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका क्षेत्रमा समेत नयाँ अन्नको पूजा गर्दै कलाकाहरुको प्रस्तुतिसहित चासोक ताङ्गनाम मनाइएको छ ।
झापाको कनकाई नगरपालिकाको कनकाई माई किनारामा आयोजित ताङ्गनाम कार्यक्रममा किराती धर्मगुरुहरुले न्वागी पूजा र किरातीहरुको च्याब्रुङ्ग नाचसहित विविध सास्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ्गका केन्द्रीय सदस्य अमृत योङहाङले देशमा बोलिने र लेखिने भाषा, लिपी र संस्कृतिको जर्गेनाका लागि चासोक ताङ्गनाम पर्व मनाउने गरिएको बताए । उनले पूजाको परम्पराले धर्म संस्कृति पुस्ता हस्तान्तरण हुनेमा जोड दिए ।
देशमा प्रजातन्त्र नआउँदा किरातीहरुले आफ्नो धर्म परम्पराको रक्षा गर्न नपाएकोमा लोकतन्त्रको पुनःबहालीसँगै किरातीहरुले आफ्नो मौलिक धर्म, संस्कृति र परम्पराको पूजा गर्न पाएको योङहाङको भनाई छ । कार्यक्रममा किरात संस्कृतिका अन्वेशक कलाकार हिम्मत नेम्बाङ्गले प्रकृतिपुजक किरातीहरुको धर्म संस्कृतिका बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेका सबै जातजातिहरुको लिपीलाई संरक्षणका लागि विद्यालयका आधारभूत तहमा पठनपाठन सुरु गरिएको बताए । कुनै पनि जातिको अन्त्य गर्नुपरेमा उसका भाषा र लिपीको लोप गराउँदा उसको सबै अस्तित्व नै अन्त्य हुने भन्दै कनकाई नगरपालिका सबै यस क्षेत्रका धर्म र संस्कृतिको संरक्षणमा लागिपरेको नगरप्रमुख पोखरेलको भनाई थियो ।
Comments