शी लिड्सले महिलालाई राजनीतिमा सशक्त बनाउने
Published: (Updated: )
by .झापा । विगत ७ वर्षदेखि महिलामा नेतृत्व विकास र अग्रताका लागि काम गरिरहेको दलित महिला केन्द्र नेपालले बिर्तामोडमा अन्तरक्रियाको आयोजना गरी लैङ्गिक समानताका लागि आवाज बुलन्द गरेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापामा शी लिड्स परियोजनाको कार्यक्रम लागू भएका पालिकाहरुबाट जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो ।
‘लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागिता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया’ नाम दिइएको सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै दलित महिला केन्द्र नेपालका उपाध्यक्ष लक्ष्मी परियारले महिलालाई राजनीतिमा सशक्त बनाउने उद्देश्य रहेको जानकारी दिइन् ।
२०६४, २०७०, २०७४ र २०७९ को संसदीय चुनाव, २०७४ र २०७९ को प्रदेश तथा स्थानीय तहको चुनावमा निर्वाचित महिलाहरुको तथ्याङ्क केलाउँदै उपाध्यक्ष परियारले संख्यात्मकरुपमा महिलालाई अवसर बढ्न लागेको जस्तो देखिए पनि गठबन्धनको नाममा दलहरुले घाँटी निमोठिरहेको तीतो यथार्थ पस्किइन् ।
सो अन्तरक्रियामा बिर्तामोडबाट नगरप्रमुख–उपप्रमुख र अधिकृत कर्मचारीहरु, दमकबाट नगरप्रमुख–उपप्रमुख र अधिकृत कर्मचारीहरु, मेचीनगरबाट नगर उपप्रमुख र अधिकृत कर्मचारी र महिला वडा सदस्य, अर्जुनधाराबाट नगर उपप्रमुख र अधिकृत कर्मचारी र महिला वडा सदस्यलगायतको सहभागिता थियो ।
शी लिड्स परियोजनाका झापा प्रशिक्षक सोमराज ढकाल, परियोजना अधिकृत नविना सापकोटा, जिल्ला संयोजक सम्झना पोखरेलसहित परियोजनाका रिजु विश्वकर्मा लगायतले आफ्नो प्रस्तुति गरेका थिए । सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई तीन समूहमा विभाजन गरी निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिका बढाउन तपाईंहरुले के गरिरहनु भएको छ र अब के गर्नुपर्छ भन्ने सन्दर्भमा प्रस्तुति गरिएको थियो ।
शी लिड्स परियोजनाले प्रदेश १ का पाँचवटा जिल्लाका ३९ वटा पालिकामा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व तथा क्षमता विकासको तालिम दिएर राजनीतिमा सशक्तिकरण गरिरहेको परियोजना अधिकृत नविना सापकोटाको भनाई छ । झापाका मात्र ८ वटा पालिकामा शी लिड्सले कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
Comments