दूधको मूल्य बढाउन उद्योगीको दबाव कायमै, तत्कालका लागि पुरानैमा कारोबार गर्न सहमत
Published:
by .झापा । डेरी उद्योग संघको अग्रसरतामा शनिबारदेखि बढाइएको कच्चा दूधको खरिद र बिक्री मूल्य तत्काल कार्यान्वयन नहुने भएको छ । केही डेरी उद्योगहरुले गत शनिबारदेखि नै कच्चा दूधको मूल्य लिटरमा एकैपटक १४ रुपैयाँ बढाएका थिए।
सरकारी निकायको सहमतिविनै गरेको उक्त निर्णय फिर्ता लिन उद्योगीहरु बहानाबाजी गरिरहेका थिए। तर आज डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले विज्ञप्ती जारी गर्दै नयाँ मूल्य तत्काल कार्यान्वयन नगर्न सबैलाई आग्रह गरेका छन् ।
एकलौटी रूपमा मूल्य बढाएको भन्दै आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव र राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्षको उपस्थितिमा दुग्ध विकास संस्थान, नेपाल डेरी एशोशियसन, डेरी उद्योग संघ र केन्द्रिय दुग्ध सहकारी संघबीच बैठक भएको थियो। त्यसमा हालका लागि मूल्य नबढाउने सहमति भएको थियो।
दूधको उत्पादन लागत, बजारको मूल्यवृद्धि तथा उपभोक्ताको क्रयशक्ति समेतको वैज्ञानिक तरिकाले अध्ययन गरेर मात्रै मूल्य बढाउन उचित हुने बैठकले सहमति गरेको थियो। यसको जानकारी मन्त्रालयले नै सार्वजनिक गरेको थियो।
तर, डेरी उद्योग संघले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयमा कुनै सहमति नै नभएको र डेरी उद्योगहरुले पुस १६ गतेदेखि नै किसानको दूध खरिदको भाउ बढिसकेका कारण मूल्यवृद्धि फिर्ता हुन नसक्ने जनाएको थियो। डेरी उद्योग संघ राजकुमार दाहाल र महासचिव विश्वराज बस्नेतले विज्ञप्ति जारी गरेर यस्तो बताएका थिए ।
तर आज मंगलबार फेरि अध्यक्ष दाहालको हस्ताक्षरमा अर्को विज्ञप्ती प्रकाशन भएको छ, जसमा बढेको मूल्य तत्काल कार्यान्वयन नगर्न भनिएको छ । यसअघि दूधको मूल्य सरकारी तथा निजी डेरी व्यवसायी र राष्ट्रिय दुग्ध बिकास बोर्ड बसेर छलफल गरेर मात्र तोक्ने गरिएको थियो।
पछिल्लो समय कच्चा दूधको उत्पादन घट्दै गएको छ । अघिल्ला वर्ष बजारमा दूधको मूल्य २ वर्षमा मात्र बढ्ने गरेको थियो। तर, यसपाली भने मूल्य बढाएको एक वर्ष नहुँदै व्यवसायीहरुले मूल्य बढाउन दबाव दिइरहेका छन् । गतवर्ष व्यवसायीले प्रतिलिटर १० रुपैयाँसम्म बढाउन माग गरेका थिए । जसमा मन्त्रालयले ६ रुपैयाँ ५२ पैसा तोकेको थियो।
Comments