हाम्रो नेपाल साकोसको अध्यक्षमा पुनः दंगाल, नयाँ सञ्चालक समितिमा अधिकांश अनुहार पुरानै
Published:
by .झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा आज सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
संस्थाको १०औं साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको सकारात्मक प्रयासबाट सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । उम्मेदवारी मनोनयनका लागि तोकिएको बुधबार अपरान्ह ३ देखि ५ बजेको समयमा संस्थाको सबै पदहरुमा आवश्यकता अनुसारको संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले बताएका छन् ।
उम्मेदवार माथि दावी विरोध एवम् मनोनयन फिर्ताको समयमा कुनै कार्य नभएपछि स्वतः सर्वसम्मत भएको संयोजक दाहाल बताउँछन् । जसअनुसार अध्यक्षमा स्थापनाकाल देखिकै अध्यक्ष भवानीप्रसाद दंगालको मात्र उम्मेदवारी परेको थियो । पुनः ४ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका दंगाल झापा जिल्ला सहकारी संघ र प्रदेश १ सहकारी संघको सचिव पनि हुन् ।
यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र गौतम चयन भएका छन्, पत्रकारिता पेसामा लामो समय सक्रिया उनी विगतमा सञ्चालक सदस्य थिए । सचिवमा विश्वेश्वरप्रसाद लामिछानेले निरन्तरता पाएका छन् ।
संस्थाको सञ्चालक समितिका सदस्यहरुमा कविता बुढाथोकी, कृष्णप्रसाद पोखरेल, सशिता राई, प्रतिमा कार्की, तुलसीराम गौतम र भगिरथ आले चयन भएका छन् । आले विगतमा संस्थाको सल्लाहकार संयोजक थिए ।
यसैगरी लेखा सुपरीवेक्षण समितिमा सबै पुरानै अनुहार दोहोरिएका छन् । संयोजकमा कृष्णराज कटुवाल तथा सदस्यहरुमा पुजनकुमारी आचार्य र सोमनाथ नेपालले पुनः चार वर्षलाई निरन्तरता पाएका हुन् । चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका अनुहारहरु लगभग सबै पहिलेदेखि जिम्मेवारीमा रहेकाहरु पाइएको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि संस्थाले बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल संयोजक तथा गुणनिधि लुइँटेल र रमेशप्रसाद गुरागाईं सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।
नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नामावली यही पुस २३ गते शनिबार बिर्तामोडमा सम्पन्न हुने १०औं वार्षिक साधारणसभाको माइन्युट प्रमाणित भेलामा घोषणा गरी सपथग्रहण गराइने निर्वाचन समितिका संयोजक दाहालले बताएका छन् ।
Comments