Sajhamanch Archive

एनएमसी फुटसलको उपाधि मेची क्षेत्रलाई

Published: in खेलकुद, लोकप्रिय, सहकारी by .

बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ ।

पुष २३ गते शनिबार बिर्तामोडस्थित एब्सोल्युट फुटसलमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ वटा क्षेत्रहरु मेची, बिर्ता–अर्जुन, भद्रपुर–केचना, कनकाई–रतुवा, मोरङ र इलामका साथै संस्थाको चौथो व्यवसाय सहकारी पसल व्यवसाय र कर्पाेरेट तथा वित्तीय प्रधान कार्यालयको एउटा संयुक्त टोलीबीच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर मेची क्षेत्रबाट रिता श्रेष्ठ प्रधान, प्रतियोगिताको उत्कृष्ट खेलाडी इलाम क्षेत्रबाट अप्सरा राई घोषित भए ।

विजेता मेची क्षेत्रले नगद १२ हजार र उपविजेता इलामले नगद ८ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायतले सम्मान गरेका थिए ।

प्रतियोगितको उद्घाटन तथा समापन कार्यक्रम एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बिर्तामोड नगरपालिका वडा नं. १ का कार्यवाहक वडाध्यक्ष योगचन्द्र आङबोहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले बोलेका थिए ।

एनएमसी खेलकुद उपसमिति सदस्य मुना बिष्ट खड्काको शाब्दिक स्वागत रहेको कार्यक्रमको सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *