Sajhamanch Archive

यती एयर विमान दुर्घटनाः शव चिन्न आफन्तलाई सकस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

पोखरा । अस्पतालको पोस्टमार्टम भवनभित्र लस्करै शव राखिएका छन् । आफन्त पालैपालो भित्र प्रवेश गर्छन् । आफ्नो आफन्तको अनुहार खोज्छन् । डढेर सद्दे नभएका, चिन्नै नसकिने शव पनि घोरिएर हेर्छन् । सद्दे शवको हरमा भएको लुगा, गरगहना, ट्याटु हेरेर चिन्न खोज्छन् । शव नचिन्नेहरू दुःखी भएर निस्कन्छन् ।

आइतबार पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेको शव चिन्न आफन्तलाई सकस भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम भवनमा सोमबार पोखरा–२५ हेम्जाका जितेन्द्र कुँवर र उनकी पत्नी भगवतीको शव पनि आफन्तले चिन्न सकेनन् । जितेन्द्रका दाजु श्यामबहादुर शवहरू राखिएका ठाउँमा पटकपटक पुगे, भाइ–बुहारीको शव चिनेनन् ।

‘शवहरू मुढाजस्ता देखिन्छन् । अनुहार चिन्न सकिने अवस्थामै छैन । आगोको रापले गर्दा खुम्चिएका छन्’ उनले भने, ‘पञ्जा र मास्क लगाएर सबै शव ओल्टाई–पल्टाई हेरिसकें तर अझै पहिचान भएको छैन ।’ ज्याकेटका आधारमा उनले भाइको शव भएको ठम्याएका थिए । तर त्यस्तै ज्याकेट लगाएको भन्दै मृतक हेम्जाकै राजन सापकोटाका आफन्त पनि आइपुगे ।

मृतक कुँवर र सापकोटाको ज्याकेटको रङ र ब्रान्ड पनि एकै थियो । एउटा शवको ज्याकेटमा फोन भेट्टियो । उक्त फोन जितेन्द्रको भएको पुष्टि परिवारले गरेपछि राजन र जितेन्द्रको शव छुट्टिएको थियो । तर, त्यति आधार पर्याप्त भएन । पहिचान नखुल्दा श्यामबहादुरको परिवारले भाइ–बुहारीको शव पाएको छैन । परिवारले चिने पनि पुष्टि गर्न काठमाडौं पठाउनुपर्ने भएको छ ।

आइतबार बिहान ४ बजे पोखरामा रहेकी दिदीलाई सुत्केरी व्यथा लागेको थाहा पाएपछि भारतका सञ्जय जैसवाल पोखरा आउन काठमाडौंबाट जहाज चढे । गर्भवती नितुलाई अस्पताल लगिएपछि सञ्जय पनि पोखराका लागि उडेका थिए । नितुले आइतबार बेलुका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छोरी जन्माइन् । तर, सञ्जयले भान्जीको मुहार हेर्न पाएनन् । उनको शव प्रतिष्ठानकै पोस्टमार्टम भवनमा छ । नितुलाई भने यो कुरा पत्तो छैन ।

सञ्जयका भिनाजु विकासकुमार जैसवाल सोमबार अस्पताल प्रांगणमा सञ्जयको शव बुझ्न बसिरहेका थिए । अस्पतालले शव बुझ्न बोलाउने आशामा उनको आँखा एकोहोरो पोस्टमार्टम भवनतिरै सोझिएको थियो । आइतबार सनाखत मुस्किल भयो । विकासलाई सोमबार फेरि पोस्टमार्टम भवनमा लगियो । प्रहरीले दुर्घटनास्थलबाट पाएको फोनहरू देखायो । विकासले सञ्जयको फोन चिने । फोनमा भएको सिम झिकेर

आफ्नो फोनमा राखे । आफैंले आइतबार सञ्जयलाई पठाएको म्यासेज फोनमा देखियो । पुलिसले उक्त फोन शव नम्बर २ बाट पाइएको बताइदियो । उक्त शवको टाउको पूरै फुटेको थियो । फोन नभेटेको भए सञ्जयको शव पहिचान थप मुस्किल बन्ने थियो ।

नदीपुर चर्चका अनिल शाही, राजुसिंह ठकुरी र रवीन हमालले जहाज दुर्घटनामा ज्यान गुमाए । पोस्टमार्टम भवनमा राखिएका मध्येबाट उनीहरूको शव पहिचान गर्न गाह्रो भयो । मण्डलीका सदस्य दिलीप गायकले अनिलको हातको औंठी र राजुसिंहको कम्मरको पेटीबाट शव चिने । रवीनलाई ठम्याउन सकेनन् । ‘केही–केही शव मात्रै सग्ला छन्,’ उनले भने, ‘अरू सबै जलेर चिन्नै नसकिने छ ।’ पहिचान गरेर पनि चर्चका अनिल र राजुसिंहका आफन्तले सोमबार शव बुझ्न पाएनन् ।

दुर्घटनापछि गठन भएको राष्ट्रिय पोस्टमार्टम समितिले त्यति आधारलाई मात्रै पर्याप्त मानेन । सनाखत गर्ने भरपर्दो माध्यम नभएका शव डीएनए परीक्षणका लागि काठमाडौं लैजाने निर्णय भयो । सनाखत भएका २० जनाको मात्रै पोखरामा पोस्टमार्टम हुने भयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कुनै द्विविधा नहोस् र विवाद नआओस् भन्नका लागि डीएनए परीक्षण आवश्यक भएको बताए । ‘कतिपय पहिचान गर्न सकिने तर यहाँ आफन्त नभएका छन्’ उनले भने, ‘परिवारकै पनि कसैको पहिचान भएको कसैको नभएको पाइएको छ । उहाँहरूले पनि काठमाडौं नै पठाइदिनूस् भनेकाले उता पठाउने संख्या धेरै भएको हो ।’

पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सोमबार साँझबाट सुरु भएर आफन्तले बुझ्न थालेका छन् । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार ७ सदस्यीय राष्ट्रिय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट आएका छन् । त्रिवि शिक्षण अस्पतालका डा. गोपाल चौधरी र डा। समारिका दाहाल पोखरा आएका हुन् । पाँचजना पोखराकै फरेन्सिक विशेषज्ञ छन् ।

‘पहिला शवको औपचारिक सनाखत हुन्छ, त्यसपछि पोस्टमार्टम गर्छौं’ उनले भने, ‘पोस्टमार्टमपछि पुनः सनाखत गर्नुपर्ने हुन्छ ।’ सोमबार राति पोखरा–१३ मियापाटनका सदाकत अलि मियाँको शव उनको परिवारले बुझेको छ । मंगलबार बिहानबाट आफन्तलाई थप शव बुझाऊन सुरु गरिनेछ ।

यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका गरी ५० शव मंगलबार बिहान काठमाडौं लगिने भएको छ । यसअघि हेलिकोप्टरमा सोमबार नै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने तयारी थियो । कास्कीका प्रहरी प्रमुख अजय केसीले सोमबार रात परेकाले मंगलबार बिहान शव काठमाडौं पठाइने बताए । उनका अनुसार हालसम्म फेला परेका ७० शवमध्ये एउटा हस्तान्तरण गरेर बाँकी ६९ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अझै नभेटिएको दुई जनाको शवका लागि खोजी जारी छ ।

कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *