Sajhamanch Archive

चम्लागाईं गए मुख्यमन्त्रीको कार्यालय, मेचीनगरमा दाहाल आउने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । ८ महिनादेखि मेचीनगरमा कार्यरत राजकपुर चम्लागाईको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयमा सरुवा भए पछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेको बताइएको छ ।

मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा गणेश दाहाल आउने भएका छन् । झापाको बिर्तामोड नगरपालिकाबाट पाँचथरको फिदिम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई गएका दाहाल मेचीनगर आउन लागेका हुन् । उमेर हदका कारण दाहालको आगामी वैशाखमा अनिवार्य अवकाश हुने बताइएको छ ।

‘मेचीनगर सरुवा भएको सुनेछु तर पत्र पाएको छैन’ दाहालले भनेका छन्, ‘फिदिमको नगरसभा माघ ६ गते छ त्यसपछि मात्रै सरुवा लिन सक्छु ।’

मेचीनगरका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत चम्लगाई बीचको विवाद उत्कर्षमा पुगेको थियो । मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको थियो । काजमा मन्त्रालय गएका चम्लागाई पुस २५ गते कार्यालय फर्किदा जनप्रतिनिधिहरुले हाजिर हुन दिइएको थिएन ।

कर्मचारीको आन्तरिक किचलो र जनप्रतिनिधिहरुसँगको विवादका कारण मेचीनगरमा आउने अधिकांश प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *