प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात
Published:
by .कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिकाले विजयी सुरुवात गरेको छ ।
दमक र भद्रपुर नगरपालिकाका बीचमा उद्घाटन खेल भएको थियो । खेलमा दमकले २५/१५, २७/२५ र २८/२६ को सोझो सेटमा भद्रपुरलाई हराउँदै विजयी सूरवात गरेको हो । दमकका रोमन बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए ।
नकआउटका आधारमा खेलाइने खेलमा प्रथम हुने टिमले १ लाख १ हजार १११, द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै विभिन्न विधाका बेष्ट परफर्मरहरुलाई नगद ५ हजार १०० पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ दि सिरिजलाई २४ इन्चको रंगीन टिभी पुरस्कार दिइने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।
माघ ३ गते सुरु भइ ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको छ । प्रतियोगितामा झापासहित मोरङ र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका छन् ।
सुरुङ्गा जेसीज वर्ष २०२२ का अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाका उपप्रमुख आशा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाईँ, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँ लगायतले खेलको सफलताको कामना गरेका थिए ।
प्रतियोगिताको बुधबार हुने खेल बेलबारी र झापा गाउँपालिका वीच हुने आयोजक समितिका खेल संयोजक प्रतापबाबु जम्मकट्टेलले बताए ।
प्रथम पुरस्कार विकास र अनु प्रसाईबाट प्राप्त भएको छ भने द्वितीय पुरस्कार पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्स कम्पनीले प्रायोजन गरेका छन् ।
मुक्ता कार्कीले आस्था वाचन गरेको कार्यक्रममा खेल संयोजक प्रतापबाबु जम्मकट्टेलले स्वागत गरेका थिए । औपचारिक कार्यक्रमको संचालन सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले गरेका थिए ।
Comments