सभामुखमा एमाले सांसद घिमिरे पक्का !
Published:
by .काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएसँगै जीत कसको हुने भन्नेमा लगभग प्रष्ट देखिन्छ ।
भरखरै बनेको एमाले नेतृत्वको गठबन्धनमा १६० सांसद रहेकाले गठबन्धनका उम्मेदवार घिमिरेको जीत पक्काजस्तै भएको छ । उम्मेदवारी मनोनयन प्रक्रियामा दुईजना उम्मेदवार बनेपछि भोलि मतदानबाटै टुङ्गो लाग्ने भए पनि जोड घटाउले घिमिरेको जीत निश्चित देखिएको हो ।
सभामुख पदका लागि नेपाली कांग्रेसले नेकपा एकीकृतको समर्थन र नेकपा एमालेले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका समर्थनमा उम्मेदवारी दर्ता गराएको हो।
उम्मेदवारी दर्ताअघि कांग्रेसले सरकार बाहिर रहेका दलहरूबीच मोर्चाबन्दी गर्ने प्रयासस्वरुप एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग छलफल गरेको थियो ।
कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । तर जसपा र लोसपा भने प्रस्तावक र समर्थक दुवैमा बसेका छैनन् । उनीहरुले कसलाई मत दिने भन्ने अहिलेसम्म खुलाएका छैनन् ।
सभामुख पदमा दुई जनाको उम्मेदवारी परे पनि सांसदको अङ्क गणितका आधारमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका सांसद घिमिरे निर्वाचित हुने देखिएको हो ।
२७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये घिमिरेको पक्षमा १४५ भन्दा बढी सांसदले मतदान गर्ने निश्चित जस्तै छ। सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात १३८ मत आवश्यक पर्छ ।
घिमिरेको पक्षमा अहिलेसम्म नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद गरी १४५ सांसद पुग्छ ।
घिमिरेलाई जसपा र लोसपाले पनि मत दिनेमा सत्तागठबन्धन ढुक्क छ । यसोभएमा घिमिरेको पक्षमा १६० मत कट्ने देखिन्छ । जसपाका १२ सांसद छन् भने लोसपाका ४ जना सांसद छन् ।
यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेश सिंहलगायतले समेत घिमिरेलाई सहयोग गर्नेछन् । सरकारमा सहभागी रहेको जनमत पार्टीसँग पाँच मत छ । यो मत पनि घिमिरेको पक्षमा पर्ने निश्चित जस्तै छ ।
जसपा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जसपालाई दुई मन्त्रालय भाग लगाए पनि भागबन्डामा कम मन्त्रालय दिएको भन्दै उ असन्तुष्ट छ ।
जसपा, लोसपा, जनमत र नागरिक उन्मिुक्ति पार्टीले समर्थन गरेनन् भने पनि घिमिरले १४५ मत पाउनेछन् ।
Comments