नेपालकै होचो भूभाग खुला दिसामुक्त क्षेत्र घोषित
Published:
by .कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार आजदेखि खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४०३ घरमा सुरक्षित चर्पी थिए ।
जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले गाउँपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले समितिको तर्फबाट गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्रसमेत प्रदान गरे ।
घोषणा समारोहका प्रमुख अतिथि पोर्तेल र गाउँपालिकाका अध्यक्ष अन्जार आलमले गाउँपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना र वातावरण तथा सरसफाई कार्यविधिसमेत जारी गरे । कार्यविधि जारी गरेसँगै कचनकवल गाउँपालिकामा खुल्लामा दिसा गर्ने कार्य कानूनी रुपमा दण्डनीय भएको छ भने बुधबारदेखि नै पूर्ण सरसफाई अभियान औपचारिक रुपमा थालनी गरिएको छ ।
सो अवसरमा आफ्नो मन्तब्यमा झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यमा सदरमुकाम र सुगम गाउँपालिका एवम् नगरपालिका नै वाधक भएको पोर्तेलले बताए । “हामी निर्वाचित भएर आउँदा साढे पाँच हजार घरधुरीमा चर्पी बनाउन बाँकी रहेको कचनकवल वर्षायाम नसकिँदै खुल्ला दिसामुक्त भयो । झापाकोमात्र नभई नेपालकै सबैभन्दा होचो कचनकवलमा पर्ने साविक केचना मध्यवर्षा याममा खुल्ला दिसामुक्त घोषणा भयो”, उनले भने, “तर, सदरमुकाम भद्रपुरमा वर्षाको बहानामा चर्पी बन्न सकेनन् ।”
घोषणा समारोहका वक्ताहरुले गाउँपालिकाले पूर्ण सरसफाइको यात्रा औपचारिक रुपमा थालनी गरेकोमा बधाई दिए । “खुल्ला दिसामुक्त अभियानका उपलब्धीको दिगोपन र समुन्नत समाज निर्माणका लागि पूर्ण सरसफाई आवश्यक हुन्छ”, अध्यक्ष पोर्तेलको भनाइ छ, “कचनकवल गाउँपालिकाले पूर्ण सरसफाई रणनीतिक योजना र वातावरण तथा सरसफाई कार्यविधि जारी गरेर पूर्ण सरसफाइको यात्रा औपचारिक रुपमा थालनी गरेको छ ।”
घोषणा समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले कचनकवल गाउँपालिकाबाट आफूले धेरै सिक्न पाएको बताए । “दूर्गम र पछाडि परेको ठाउँको रुपमा लिइने कचनकवलले खुल्ला दिसामुक्त घोषणा गरी समुन्नतिको थप एक सूचक पूरा गरेको छ”, श्रेष्ठले भने, “हामी सदरमुकामबासीले यसबाट राम्रो पाठ सिक्न पाएका छौं ।”
गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशी र नेकपाका हरि घिमिरेले चर्पीको समुचित प्रयोग तथा मर्मतसम्भार गर्नुपर्नेमा जोड दिंदै खुल्लामा दिसा गर्ने बानीलाई पूर्ण रुपमा हटाउनका लागि नीतिगत कडाई गर्नुपर्ने बताए ।
वडा नं. ६ का अध्यक्ष कूलबहादुर कार्की, स्रोत व्यक्ति होमनाथ गुरुङ, सूचना अधिकृत केशव मैनाली लगायतले पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
लाखे नाच लगायतका विभिन्न साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको घोषणा समारोहमा खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय, व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
Comments