Sajhamanch Archive

सामुदायिक विद्यालयको रेखदेख, अनुगमन वडाबाट नै गरिनेः वडाध्यक्ष वाग्ले

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले आफ्नो वडाका सामुदायिक विद्यालयका बाल कक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरु भएको बताएका छन् । त्रिभुवन माविकोे ६६औँ वार्षिकोत्सवमा आज प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै वडाध्यक्ष वाग्लेले यस्तोे बताएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा वडाका सामुदायिक विद्यालयका बालकक्षालाई यसवर्ष सुविधायुक्त बनाउने गरी वडाले बजेट विनियोजन गरेको र सोही अनुरुप काम सुरु भएको वडाध्यक्ष वाग्लेको भनाई छ ।
नमूना विद्यालयका रुपमा रहेको बुद्धआदर्श माविको बालकक्षा व्यवस्थित भइसकेको जनाइएको छ ।

वडाध्यक्ष वाग्लेले विद्यार्थी भर्ना हुने कक्षाका रुपमा रहेको बालकक्षाको कोठा व्यवस्थित गर्ने, टेलिभिजन नभएका विद्यालयको बालकक्षामा टेलिभिजन जडान गर्ने, फमसहितको कार्पेट व्यवस्थापन गर्ने, बालबालिका सुत्नेखाट कक्षा कोठामा नै व्यवस्थापन गर्ने, कक्षा रङ रोगन, सिलिङ तथा पङ्खाको व्यवस्थापन गर्ने एवम् बालकक्षामा सिसिटिभी क्यामरा जडान गरिने बताएका छन् ।

वडाध्यक्ष वाग्लेले बालकक्षालाई प्रभावकारी बनाउन वडाका सबै सामुदायिक विद्यालयका बालकक्षामा सिसिटिभी जडान गरी सो कक्षाको रेखदेख, अनुगमन वडाबाटै हेर्ने गरीको प्रबन्ध मिलाइने जानकारी गराए । सिसिटिभीबाट सो कक्षाको रेखदेख, अनुगमन विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका संयोजक, विद्यालयका पदेन सदस्य जनप्रतिनिधि, गाउँपालिका शिक्षा शाखा तथा वडाध्यक्षले प्रत्यक्ष गर्ने गरीको प्रबन्ध मिलाइने उनको भनाई छ ।

अभिभावकले भरोसा गर्नेगरीको शिक्षण सिकाइको विकासमा सबै पक्ष लाग्न सके सामुदायिक विद्यालयको शैक्षिकस्तर माथि उठ्न समय नलाग्ने बडाध्यक्ष वाग्लेको भनाई छ । बुद्धशान्ति १ मा बुद्धआदर्श मावि नमूना विद्यालयका रुपमा विकास भएको छ भने अरु सामुदायिक विद्यालय नमूना आधारभूत विद्यालय र त्रिभुवन माविलाई बालकक्षा सुधार गर्न वडाले २/२ लाख रुपैँया विनियोजन गरेको छ । सरस्वती बालविकास केन्द्रलाई १ लाख रुपैयाँ वडाले विनियोजन गरेको वडाध्यक्ष वाग्लेले जनाएका छन् ।

सुरुमा विद्यार्थी भर्ना हुुने कक्षालाई लोभलाग्दो कक्षका रुपमा विकास गर्दै शिक्षण सिकाई र अतिरिक्त क्रियाकलापमा गुणात्मक सुधार गर्ने हो भने अबको ५ वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या हालको भन्दा दोब्बर बनाउन सकिने वाग्लेको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *