Sajhamanch Archive

राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ ।

सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र रहेको छ । संकटपूर्ण अवस्थामा चलिरहेको भए पनि सो फर्मलाई सहज बनाउन राज्यका कुनै निकायले साथ सहयोग नदिँदा संकटमै चलिरहेको पाइएको हो ।

भद्रपुर १ हिमालीचोक पृथ्वीनगरका ३५ वर्षीय अर्जुन सुवेदी रोजगारीका शिलशिलामा ११ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । ११ वर्ष कतारमा मजदुर भएर पसिना बगाएका अर्जुनले मासिक एक लाख ५० हजार तलब आइरहेको कम्पनी त्यागेर आफ्नै देशमा केही गर्ने सोच पालेर तीन वर्षदेखि भैंसी पालनमा रमाइरहेका छन् ।

हुन त अर्जुनको परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको हो । यस यात्राले उनलाई अहिले आएर आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब उनी परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा छन् ।

उनले भद्रपुर १ थानाचोक कमानसिंह मार्गको बस्तीमा आफ्नै स्वामित्वमा रहेको ७ कठ्ठा जग्गामा २६ लाख लगानीमा आधुनिक गोठ निर्माण गरी ५४ वटा भंैसी राखेर व्यवसायिक पशुपालन सुरू गरेका हुन् । प्रदेश २ को सिराहा जिल्लाको लहानबाट मुर्रा जातका पाडीहरू खरिद गरेर ल्याएको उनले बताएका छन् ।

अहिले केही पाडीहरू गर्भिणी रहेकाले ब्याउने अवस्थामा पुगिसकेका छन् । स्थानीय रैथाने प्रजातिका मुर्राभैंसी भए पनि प्रतिभैंसी १० लिटरसम्मा दूध उत्पादन हुनसक्ने उनको अनुमान छ । राज्यको कुनै निकायबाट सहयोग नपाइ कर्म गरिरहेका सुवेदीले अहिलेसम्म लगानीमै सिमित छन् । भैंसीको आहाराका लागि पराल खरिद गर्न उनले यो वर्ष ६ लाख रूपैयाँ खर्चेको बताउँछन् ।

वैदेशिक रोजगारको अनुभवले आफ्नै स्वरोजगार सोच पालेर व्यवसायिक पशुपालन तथा कृषि उत्पादनको क्षेत्रमा होमिएका उनी बजारको उचित प्रबन्ध हुने हो भने दैनिक २५० लिटरभन्दा बढी दूध उत्पादन गर्ने सोचमा छन् । उनले आफ्नो फर्मबाट उत्पादन हुने दूध खरिदका लागि केही दुग्ध डेरी सञ्चालकहरूले खरिद गरिदिने भन्दै फर्ममा आउने गरेको बताएका छन् ।

स्थानीय पशुपालक कृषकका सानो सानो परिणमको दूध संकलन गर्ने लक्ष्यका साथ चिस्यान केन्द्रले खोल्ने सोचसमेत सुनाएका सुवेदीले १३ विगाह जमीन भाडामा लिएर घाँस खेती तथा कृषि उपज उत्पादन पनि गरिरहेका छन् ।

वार्षिक ३५ हजार भाडा तिर्नेगरी ७ बिगाह जग्गामा घाँस खेती गरेर पशु आहारको व्यवस्थापन गरिरहेका उनले मौसमी बालीका लागि ६ विगाह जमीन उपयोग गरिरहेका छन् । आफूसहित ३ जनालाई पूर्ण रोजगारी समेत दिएको सुवेदी फर्मबाट यतिखेर ४ विगाह क्षेत्रमा हराबरा तोरी फुलिरहेको दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ ।

पशुपालन र कृषि उपज, तरकारी खेती, अन्न, तेलहन खेतीलाई साथसाथै अगाडि लाने सोच पालेका उनको अनुरोध रोजगारीका लागि विदेशिने युवाहरूलाई अवसरका ढोकाहरू आफ्नै देशमा रहेको सुनाउँछन् ।

देशमै बसेर समृद्धिको वातावरण तयार गर्न रातदिन लागिरहेका सुवेदीजस्ता युवालाई स्थानीय सरकारले समेत नजिकबाट नियाल्न सकेको छैन । भद्रपुर नगरपालिकाको निवर्तमान नेतृत्वले बेवास्ता गरेपछि स्थानीय सरकारका कामप्रति अविश्वास पाल्न बाध्य अर्जुनले वर्तमान नगर नेतृत्वसँग पनि खासै आसा नलागेको बताउँछन् ।

जसलाई सरकारको सहयोग आवश्यक छ त्यसलाई सहयोग गर्न सरकारी पक्ष नलागेकै कारण युवाहरू विदेशिन बाध्य भएको तीतो अनुभव सुनाउने सुवेदी अर्काको देशको लाखले मात्र भविष्य सुनिश्चित नहुने भन्दै आफ्नै माटोमा केही वर्ष थोरै कमाइमा रमाएर भविष्य सुन्दर बनाउनसके देशको समृद्धिको यात्रामा एउटा ईंटा थपिने बताउँछन् ।

नातावाद, कृपावाद वा कागजी सहयोगका सबै विभेद बन्द गरेर वास्तविक उद्यमी युवालाई प्रोत्साहनको पोको खोलिनु पर्छ अनि मात्र देशले समृद्धिको यात्रा तय गर्न सक्नेछ भन्ने सोच पालेका सुवेदीले अहिलेसम्म सरकारका कुनै पनि निकायबाट सहयोग भने पाएका छैनन् ।

उनको फर्मसम्म पुग्ने बाटो वर्षातमा हिलाम्मे हुन्छ भने हिउँदमा हिडेर जान समस्या नभए पनि असहज अवस्थाको सामना गर्नुपर्छ । फर्म सञ्चालन वापत वडा कार्यालयलाई वार्षिक ७ हजारसहित ४३ हजार कर राज्यलाई बुझाइरहेको सुवेदी कृषि फर्मले सुविधान भने एक पैसाको पनि पाउन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *