मेचीनगरका जनप्रतिनिधिको स्तुत्य कार्य, विपन्न एवम् मानसिक रोगी धनकुमारको उपचार सुरु
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो ।
मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर राखेका थिए । बाहिर राख्दा कुटपिट गर्ने, घर छाडेर हिंड्ने, हिडेपछि फर्केर नआउने गरेका कारण धनकुमारलाई खोरमा थुनेर राख्न बाध्य भएको उनका बुबा जीवन राई बताउँछन् ।
जीवनका अनुसार छोरालेले खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने गर्थे । आर्थिक अवस्था कमजोर रहेका कारण समयमा नै छोरालाई उपचार गराउन नसकिएको उनको भनाई छ ।
मेचीनगर नगरपालिकाले राईको उपचार गर्नेगरी २०७९ साल पौष १ गते बसेको कार्यपालिकाको बैठकले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । नगरपालिकाको तर्फबाट चितवनको खैरहनी नगरपालिका ११ गैंडाहामा रहेको ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रीमा अब राईको उपचार हुने नगरप्रमुख बुढाथोकीले बताए ।
धनकुमारलाई ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिकका डाक्टर गिरीराज भन्ताना लगायतको टोली नगरपालिकामा नै पुगेर उपचारका लागि चितवन लगेको हो । नगरपालिकाले उद्धार गरी छोरालाई उपचारका लागि चितवन पठाएपछि निको हुने आश पलाएको बाबु जीवनले अपेक्षा राखेको बताए ।
मानसिक रोगी असहाय धनकुमारको अवस्था बुझ्न केही दिन अघि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १२ का वडाध्यक्ष मधुसुदन निरौला, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेल घरमा नै पुगेका थिए ।
उनीहरुले तत्कालै धनकुमारलाई खोरबाट बाहिर निकालेर उपचारका लागि नगरपालिकाबाट आर्थिक सहयोग गर्ने बचन दिएका थिए । सोहीअनुसार कार्यपालिकाले निर्णय गरेर रकम उपलब्ध गराउँदै उपचारार्थ अस्पताल पठाइएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।
Comments