त्रिदेव क्याम्पसका विद्यार्थीले बनाए सेन्सर डस्टविन
Published:
by .मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विविएस चौथो वर्षमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विद्यार्थीहरूले बनाएको सेन्सर डस्टविनको आज प्रदर्शनी पनि गरिएको छ ।
बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुरज घतानीको अगुवाईमा तेस्रो वर्षका विद्यार्थी विनय दहाल र उत्सव भट्टराईद्वारा तयार गरिएको उक्त डस्टविनको मेचीनगर नगरपालिका वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देल, नेपाल बैंक लि. बिर्तामोड शाखाका प्रबन्धक यमनाथ दहाल र त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माघव प्याकुरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
फोहोर मैला व्यवस्थापनको विद्यमान समस्यालाई समाधान गर्न केही हदसम्म सहयोग गर्ने उद्देश्यले उक्त सेन्सरवाला डस्टविनको परिकल्पना गरिएको त्यसका निर्माता घतानीले जानकारी दिए । उक्त डस्टविनको छेउमा हात लाँदा वा छेउमा जाँदा त्यसको विर्को आफैं खुल्छ र केही समयपछि आफैं बन्द हुन्छ ।
यस्तैगरी त्रिभुवन विश्वविद्यालयद्वारा २०७८ सालमा लिइएको बिबिएस चौथो वर्षमा सर्वोत्कृष्ट अङ्क अर्थात् ७९ दशमलव ८ प्रतिशत अङ्क प्राप्त गरी क्याम्पसको गरिमा उच्च राखेकोमा विद्यार्थी अमित दहाललाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेचीनगर नगरपालिका वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले विद्यार्थीलाई नगरपालिकाको वडा कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेकोले त्यस कार्यक्रममा सहभागी हुन आव्हान गर्दै नव प्रतिभाको प्रतिभा प्रस्फुटन गराउन आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक यमनाथ दाहालले नवप्रतिभा विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउन आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै यस्ता विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरुलाई पुरस्कार सम्मान गरेकोमा क्याम्पसलाई धन्यवादसमेत ज्ञापन गरेका थिए ।
क्याम्पस प्रमुख माधव प्याकुरेलले त्रिदेव क्याम्पस विविध प्रतिभाको फूलबारी रहेकोले यस्ता प्रतिभाको प्रस्फुटन गराउने अवसर क्याम्पसले प्रदान गर्ने बताए । यस्ता प्रतिभाशाली विद्यार्थीलाई आफ्नो तर्फबाट र क्याम्पसको तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेविसंघका त्रिदेव एकाई सभापति सौरव वस्नेत, अनेरास्ववियूका त्रिदेव ईन्चार्ज विनिता न्यौपाने, एसक्युसी संयोजक उत्सव भट्टराई लगायत विद्यार्थी प्रतिनिधिहरुले आफ्ना सहकर्मीहरूको प्रतिभा प्रबर्द्धनमा आफूहरूले पनि सक्दो सहयोग गर्ने बचनबद्घता व्यक्त गरेका थिए ।
व्यवस्थापन विभाग प्रमुख साबित्रा दहाल भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले आयातमुखी अर्थतन्त्रका कारण मुलुक जर्जर भइरहेको वर्तमान अवस्थालाई सुधार गर्न केही हदसम्म टेवा पुगोस् र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने अभिप्रायले त्रिदेव क्याम्पसका विद्यार्थीको नयाँ अवधारणासहित नयाँ उत्पादनको प्रयासलाई प्रबर्द्धन गरिएको बताइन् । यसले अरू विद्यार्थीलाई पनि सिर्जनात्मक बन्न हौसला मिल्ने उनको भनाई छ ।
कार्यक्रममा सहभागीहरुलाई अंग्रेजी विभाग प्रमुख ज्ञानकुमार खतिवडाले शाब्दिक स्वागत गरेका थिए भने व्यवस्थापन विभाग सदस्य सहायक प्राध्यापक रोहित बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments