उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसन बीच भेटवार्ता
Published:
by .काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गरेका छन् ।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज बुधवार भएको दुईपक्षीय भेटमा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकास, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।
विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको बताइएको छ ।
पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताएका थिए ।
केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष बनाउँदै लगिने उपप्रधानमन्त्री लिङ्देनको भनाई थियो ।
Comments