सय विपन्न ज्येष्ठ नागरिकलाई नगरपालिकाले दियो ब्लाङ्ककेट
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच एक सय जनालाई व्लाङ्केट वितरण गरिएको हो ।
सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका १०–१० जनालाई व्लाङ्केट वितरण गरिएको शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।
व्लाङ्केट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा व्लाङ्केट वितरण गरिएको बताइन् । आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै नगरप्रमुख प्रसाईले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान दिन आग्रह पनि गरिन् ।
कार्यक्रममा नगर उपप्रमुख तथा स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार समन्वय समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले मापदण्डका आधारमा व्लाङ्केट वितरण गरेको प्रष्ट पारे । यस शीर्षकमा यो वर्ष दुई लाख रुपैयाँमात्रै बजेट रहेको कारण सबैलाई समेट्न गाह्रो भएको भन्दै उपप्रमुख संग्रौलाले बाँकी रहेका विपन्न जेष्ठ नागरिकहरुलाई अर्को वर्ष वितरण गर्ने जानकारी गराए ।
नगरपालिकाले व्लाङ्केट लिन आउने सबै विपन्न जेष्ठ नागरिकहरुलाई जनही २०० रुपैयाँका दरले यातायात खर्चसमेत दिएको छ । न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाअध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्की लगायत जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति थियो ।
Comments