Sajhamanch Archive

टर्की र सिरिया भूकम्प : मृतकको संख्या २० हजारभन्दा बढी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by .

झापा । गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पमा परेर टर्कीमा मात्रै कम्तीमा १७ हजार ६७४ जनाले ज्यान गुमाएको उपराष्ट्रपति फुआत ओक्तेलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

त्यस्तै सिरियामा कम्तीमा ३ हजार ३७७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । पराकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ ।

विमानस्थलका टर्मिनलमा समेत भूकम्प पीडितहरूले आश्रय लिइरहेका छन् । विश्व बैंकले भूकम्प पीडितको उद्धार र राहतका लागि १ अर्ब ७८ करोड अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि टर्की र सियरियालाई हरसम्भव सहयोग गर्ने बताएका छन् । अमेरिकी सरकारले ८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेको छ ।

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७०० भन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् ।

१७ दशमलव ९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि सन् १९९९ मा उत्तर–पश्चिम टर्कीमा शक्तिशाली भूकम्प जाँदा १७ हजारभन्दा बढीको ज्यान गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *