Sajhamanch Archive

देवी मावि बिर्तामोडका विद्यार्थीलाई डेढ करोडको छात्रवृत्ति, हरेक वर्ष २० जना शिक्षकलाई तालिम दिइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by .

झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत विद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउने भएका छन् ।

भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० उत्तीर्ण ५० जना र १२ कक्षा उत्तीर्ण ५० गरी हरेक वर्ष १०० जना नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

जसका लागि देवी माध्यमिक विद्यालय र मेवाड विश्वविद्यालयबीच समझदारी भएको छ । बिर्तामोड वडा नं. ५ स्थित देवी माध्यमिक विद्यालय आएका डा. अशोककुमार गादिया र प्रधानाध्यापक अम्बिका श्रेष्ठबीच समझदारी भएको हो ।

मेवाड विश्व विद्यालयका कुलपति डा. गादियाले देवी माध्यमिक विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेसंँगै दुई पक्षबीच समझदारी भएको हो । कक्षा १० पास गरेका ५० जना विद्यार्थीलाई हरेक वर्ष ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने र कक्षा १२ पास गरेका ५० जना विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने डा. गादियाले बताए ।

विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीलाई विश्वका जुनसुकै मुलुकमा गएर उच्च शिक्षा अध्ययन गर्न चाहे मेवाड विश्वविद्यालयले नै छात्रवृत्ति प्रदान गर्दै अध्ययनका लागि पठाउने उनको भनाई छ । अहिले विश्वका २० वटा मुलुकमा रहेका विश्वविद्यालयसंँग मेवार्ड विश्व विद्यालयले सहकार्य गर्दै छात्रवृत्ति प्रदान गर्दै आएको डा. गादियाले बताए ।

निम्न आयश्रोत भएका अधिकांश अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको र त्यस्ता अभिभावकका छोराछोरीले आफूमा क्षमता भएपनि आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन नदिन मेवाड विश्वविद्यालयले गरिव र मेधावी विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको डा. गाादियाको भनाई छ । मेवाड विश्व विद्यालयमा विश्वका २० देश र भारतकै २९ वटा राज्यका विद्यार्थी अध्ययन गर्न आउने गरेको बताइएको छ ।

यो विद्यालयमा चार हजार हाराहारी विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षक उमेश साहुको भनाई छ । जसमध्ये ९० प्रतिशत विद्यार्थी गरीब परिवारका रहेको उनले बताए । छात्रवृत्तिमा गएका विद्यार्थीले रोजगारीको इच्छा गरे आफ्नै कम्पनीमा रोजगारसमेत उपलब्ध गराउने डा. गादियाले बताएका छन् । मेवाड इन्स्टिच्यू्ट अफ मेनेजमेन्टका अध्यक्षसमेत रहेका डा. गादियाले सरकारी (सामुदायिक) विद्यालय भए पनि देवी माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

मेवाड विश्वविद्यालयले यहाँ अध्ययनरत १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेसँगै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले खुशी व्यक्त गर्दै मेवाड विश्वविद्यालयसँंग निरन्तर सहकार्य गर्ने बताइन् । उनले डा. गादिया र मेवाड विश्व विद्यालयलाई धन्यवाद दिँदै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरिदिएको प्रति आभार व्यक्त गरिन् ।

डा. गादियाले हरेकवर्ष २० जना शिक्षकलाई तालिम प्रदान गर्नेसमेत बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि शिक्षक पनि दक्ष हुनुपर्छ डा. गादियाल भने ‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकलाई समेत तालिमको व्यवस्था गर्छौ । जुन तालिम गुणस्तरीय शिक्षाका लागि सहयोगी हुनेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *