सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबीच भेट
Published:
by .काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित भएको जनाइएको छ ।
प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । सभामुख घिमिरेले भने, ‘दुई देशबीच २०० वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौं ।’
बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् । उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।
राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसद्मा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन् ।
Comments