बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव तयारी अन्तिम चरणमा
Published:
by .२०० स्टल रहने, ४ विदेशी मुलुुका व्यवसायीको स्टल रहने, सभामुख घिमिरेले उद्घाटन गर्ने
झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने विश्वास व्यक्त गरेका छन् ।
महोत्सव आयोजक समितिले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष ढकालले भने, ‘महोत्सवले प्रदेश १ मा उत्पादन हुने कृषिजन्य वस्तुहरुको प्रवद्र्धन गर्नुका साथै भारत, बंगलादेश र पाकिस्तानबाट आएका बस्तु सिधै नेपाली उपभोक्तासम्म पुग्ने सुनौलो अवसर हो ।’
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको प्रर्वद्धन गर्नुका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वाससमेत ढकालले व्यक्त गरेका छन् । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव फगुन ५ देखि १५ गतेसम्म बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन गरिनेछ ।
हालसम्म १५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा २०० स्टलहरु रहने संयोजक राजु न्यौपानेले बताएका छन् । महोत्सवमा तीन लाखजनाले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । झण्डै ४५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने महोत्सव मूल आयोजक समितिका संयोजक न्यौपानेले अपेक्षा सुनाए ।
महोत्सवलाई चार भागमा विभाजन गरिएको जानकारी दिँदै महोत्सव मूल आयोजक समितिका सचिव कुशल खतिवडाले भने, ‘प्रर्दशनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपिन क्षेत्र छुट्याइएको छ ।’
महोत्सवमा अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रदर्शनमा रहने छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको २० वटा स्टल रहने छ ।
प्रदेश १ को कृषि, पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत विकसित र सुगम स्थलका रुपमा रहेको बिर्तामोडमा हुन लागेको महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन कुमार मैनालीले बताए ।
महोत्सवको उद्घाटनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य हुने निर्णय भएको छ । महोत्सव स्थलको मुख्य प्रवेशद्वार तथा स्टलहरु जर्मन प्रविधिमा निर्माण गरिने भएको छ भने मुख्य प्रायोजकका रुपमा एनसेल एक्सिएटा लिमिटेड रहने जनाइएको छ ।
यस अघि २०७५ सालमा सञ्चालन भएको महोत्सवको सफलतासगै यसपटक पनि बिर्तामोड उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा २०७५ सालको महोत्सव लगाइएको स्थलको भाडा नदिएको, आम्दानी खर्च सार्वजनिक नगरिएको कारण कार्यक्रम स्थगन गर्न उजुरी परेको र बिर्तामोड नगरपालिकाले आजका लागि छलफलमा बोलाएको विषयमा पत्रकारहरुको जिज्ञासाको सम्बोधन महासचिव मैनालीले गरेका थिए । विगतमा साधारणसभामा आय व्यय सार्वजनिक गरिएकोमा यो पटक महोत्सवको छुट्टै विवरण सार्वजनिक गर्ने महसचिव मैनालीले प्रतिवद्धता जनाएका छन् ।
Comments