सभामुख घिमिरेलाई सहाराको सम्मान र ध्यानाकर्षण एकसाथ
Published:
by .झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ ।
झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित देवराज घिमिरे सहारा नेपाल साकोसका सेयर सदस्य हुन् । उनी सभामुख बनेको खुसीमा संस्थाले कार्यालयमा नै आमन्त्रण गरी दोसल्ला ओडाएर सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेको हो ।
सोही अवसरमा सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्याहरु समाधानको पहल गरिदिन सभामुख समक्ष तीन बुँदे ध्यानाकर्षण पत्र पनि दिइएको छ । सहारा नेपाल साकोसका कार्यकारी निर्देशक, झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा प्रदेश १ का इन्चार्ज महेन्द्रकुमार गिरीले सहकारी अभियानको तर्फबाट समसामयिक समस्याहरु समाधानका लागि सभामुखलाई सुझाएका हुन् ।
केही समयदेखि सहकारी अभियानप्रति नै नकारात्मक सन्देश प्रवाह हुने गरी धावा बोलिँदै गरेका घटनाहरु बढ्दै गएकाले यस्ता गतिविधिहरु तुरुन्त रोक्न, सहकारी संस्थामा व्यक्तिगत बचत २५ लाखभन्दा बढी राख्न नपाउने गरी हुन लागेको संशोधन रोक्न एवम् सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले नभई दोस्रो नियमनकारी निकायबाट गर्न गराउन पहल गरिदिन सभामुख समक्ष माग गरिएको छ ।
सो ध्यानाकर्षण पत्र तथा सम्मानपत्र ग्रहण गरिसकेपछि सभामुख घिमिरेले अभियानको विपक्षमा हुने गरी कानून बनाउन नदिने बताए । ‘ऐनहरु बनाउँदा सम्बन्धित समितिमा छलफल भएर मात्र सदनमा आउँछन्’ सभामुख घिमिरेले भने, ‘प्रतिनिधि सभाका सदस्यहरुको तुलनामा मेरो भूमिका गौण हुनसक्छ, आफू अम्पायर मात्र हुँ तर पनि म अभियानको विपक्षमा हुने गरी बनाइने कानूनहरु बारे पुनः विचार गर्नका लागि आग्रह गर्नेछु ।’
आफू सेयर सदस्य भएको संस्थाले कार्यालयमा नै बोलाएर सम्मानपत्र प्रदान गरेर काम गर्ने हौसला बढाएकोमा सभामुख घिमिरेले संस्था परिवारप्रति धन्यवाद पनि दिएका छन् ।
Comments