भारतको सिलगडी डिपोबाट झापाको चारआली ल्याइएको डिजेलमा मिसावट, चालक फरार
Published:
by .झापा । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगडी डिपोबाट झापाका लागि चारवटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ ।
फागुन १० गते सिलगडी डिपोबाट ४ वटा ट्याङ्करमा २० हजार लिटरका दरले डिजेल लिएर चारआलीस्थित नेपाल आयल निगम लिमिटेडको शाखामा आएको हो ।
नवदुर्गा आयल स्टोर्सको नाममा रहेको प्र–१–०१–००१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे. १ ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना. ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सको नाममा रहेको ना. ७ ख ६९७४ नम्बरको ट्याङ्करमा आएको कुल ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको पाइएको हो ।
चारआलीस्थित शाखाको पार्किङस्थलमा राखिएका ट्यांकरको प्रत्येक चेम्बरमा रहेको डिजेलको नमूना परीक्षण गर्दा घनत्व तोकिएको दरभन्दा धेरै अन्तरले फरक परेको कार्यालय प्रमुख भीम विकले बताएका छन् ।
त्यसपछि चारवटै ट्याङ्करको ८० हजार लिटर तेलको गुणस्तरमा फरक परेको व्यहोरा केन्द्रीय कार्यालयमा जानकारी गराएको उनको भनाई छ । केन्द्रीय कार्यालयबाट उच्चस्तरीय टोली झापा आएको छ । प्रारम्भिक छानविनका लागि टोलीमा कमला न्यौपाने, शिवहरि आचार्य र विरेन्द्र मिश्र छन् ।
चारवटै ट्याङ्करको तेल परीक्षणका लागि आजै काठमाडौँ पठाइएको कार्यालय प्रमुख विकले जानकारी दिए । सबै ट्याङ्करका चालक फरार रहेको पाइएको छ ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइरालले आइओसीबाट ट्याङ्करमा लक गरेर ल्याइएको तेल चारआली आयल निगममा आइपुग्दा खराब देखिएको बताए । श्रोतका अनुसार चारवटै ट्याङ्करमा आएको ८० हजार लिटर डिजेलमा मट्टितेल मिसाइएको छ ।
Comments