Sajhamanch Archive

भारतीय सुरक्षा निकायसँग गलगलियामा अन्तरक्रिया

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनीकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

एबिसी नेपाल, साना हातहरु, विश्व सेवा, शसस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो ।

छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन नियन्त्रण जटिल भएको निष्कर्ष निकाल्दै दुवै देशका सरोकारवालाहरुबीच आपसी समन्वय भए असम्भव भने नभएको बताएका छन् ।

नेपालतर्फबाट मानव बेचविखन, ओसार–पसार, लागू औषध दुव्र्यसन न्यूनीकरणका क्षेत्रमा कामगर्दै आएका सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भद्रपुर नगरपालिकाका उपप्रमुख, नेपाल–भारत मैत्री संघका प्रतिनिधि र सिमावर्ती भारतको गलगलिया सिमानाकास्थित शसस्त्र सुरक्षा बलको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा नेपालतर्फबाट सहभागी प्रतिनिधिहरुले गलगलियामा लागू औषध बिक्री सहज भएका कारण नेपालमा समस्या सृजना भएको भन्दै भारतीय सुरक्षाकर्मीको ध्यानाकर्षण गराएका थिए ।

नेपाली प्रतिनिधिको कुरा सुनेपछि भारतीय एसएसबी कमाण्डर सुरेन्द्र सिंहले नेपालले कहिले पनि खराब काम नगर्ने बताउँदै आफूले नेपालको सदा सम्मान गर्ने बताए । पैसा लिएर सही कारोबार गर्नेलाई आफूले सम्मान गर्ने बताउँदै खराब काम गर्नेलाई आतंककारीका संज्ञा दिने बताए ।

गलगलिया नाकाबाट नेपाललाई समस्या हुने कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता जनाउँदै कमाण्डर सिंहले अपराध नियन्त्रणमा सूचनाको महत्वपूर्ण हुने बताए । लागू औषध नियन्त्रण तथा मानव तस्करीमा संलग्न आशंका भए तत्काल सूचना दिन आग्रह पनि गरे । समय हुँदै सूचना पाएमात्रै समस्या समाधान गर्न सकिने उनको भनाई थियो ।

सो अवसरमा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले मानव तस्करी र दुव्र्यसन समस्या भएको भन्दै नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरिन् ।

नेपाल प्रहरीका सन्तोषकुमार बुढाथोकी र सशस्त्र प्रहरीका रामकुमार घिमिरेले वर्तमानमा मानव तस्करी र दुव्र्यसन सम्बन्धीका घटनाबारे तथ्यगत अवस्थाबारे जानकारी गराएका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले मानवीय सेवाका क्षेत्रमा काम गर्ने रेडक्रस सदैव मानवीय सेवा संवेदनशिलताका क्षेत्रमा काम गर्न तत्पर रहेको बताए ।

सो अवसरमा भद्रपुर नगरपालिका वडा नंं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले सीमा क्षेत्रमा अपराध हुने कारण र मानव तस्करी तथा दुव्र्यसनमा संलग्न हुनुको कारण, त्यसले घर परिवारमा निम्त्याउने समस्या र उनीहरुको मानसिकताजस्ता विषयमा आफ्नो अनुभव शेयर गरेका थिए ।

त्यस्तै साना हातहरु नेपालका प्रतिनिधि जगत बाग्लेले नेपालमा सहज रुपमा उपलब्ध नहुने लागू औषध भारतीय बजारमा सहज र सहुलियतमा खरिद गर्न पाउँदा दुव्र्यसनी बढेको बताउँदै भारतीय बजार गलगलियामा लागूऔषध बेचबिखनमा कडाई गर्न आग्रह गरेका थिए ।

एबीसी नेपालका झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया, समस्या र समाधानका विषयमा पटक–पटक छलफल गरी परिणाम निकाल्नु पर्नेमा जोड दिइन् ।

सीमा क्षेत्रबाट हुने लागुऔषध ओसार पसार र मानव तस्करीले दुवै देशलाई असर पुर्याउनेतर्फ सचेत हुन आग्रह गर्दै ढकालले आगामी दिनमा दुवै पक्षबीच सूचना आदान प्रदान तथा समस्या समाधानका लागि निरन्तर छलफल गर्न आवश्यक रहेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *