मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा पूर्व सभापति आचार्यले दिए एक लाख रुपैयाँ
Published:
by .बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि झापाका पूर्व सभापति केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका हुन् । २०५३ सालमा आचार्य महासंघको सभापति हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र थियो । पुरस्कार राशि हरेक अधिवेशनमा ५१ हजार रुपैयाँको वितरण गरिँदै आएको छ ।
अक्षयकोषमा राखिएको रकमको ब्याजले पुरस्कारको राशि नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पुर्याउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो । दाता र महासंघको आन्तरिक स्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताए ।
झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्षीय आचार्यले अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताए । हाल जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक एवम् साहित्य सेवामा क्रियाशील आचार्यले नेपालका पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दैै आएको बताए ।
महासंघ झापाका अध्यक्ष गिरीले पूर्व अध्यक्ष आचार्यलाई अक्षयकोषमा सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।
Comments