Sajhamanch Archive

सञ्चार सम्बन्धी विधेयक अघि बढाउन तयार रहेको सभामुख घिमिरेको भनाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

आज बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षतासँग जोडिएका कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा परेर रोकिएको भन्दै तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताएका हुन् ।

‘सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएका यी कुराहरुलाई सभामुख भएको नाताले अघि बढाइयोस् भन्ने तपाईंहरुको आकांक्षा जायज छ’ सभामुख घिमिरेले भने, ‘यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको बिरोध गर्नुको कारण के हो भन्ने खोजी गरी रोकिएको विधेयक अघि बढाउन मेरो ठाउँबाट तयार छु ।’

सोही समारोहमा इञ्जाले इञ्जा वौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजी पत्रकारिता पुरस्कार २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ ।

त्यस्तै ग्रामीण पत्रकारिता पुरस्कार २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार २०७९ बाट सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *