जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान
Published:
by .झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ।
सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही निक्षेप पुनः सदस्य माझ नै लगानीमा रहेकोले यस्तो ऋणलाई जोखिममा पार्ने गरी गतिविधि गर्ने वित्तीय अराजक समूहलाई राज्यले दण्डित गर्न ढिला भइसकेको जनाउँदै कारबाहीको समेत माग गरिएको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालको संयुक्त हस्ताक्षरमा आज जारी प्रेस विज्ञप्तीमा यस्तो आव्हान गरिएको हो । विज्ञप्तीमा हाल समाजमा सहकारीको ऋण नतिर्ने गरी अराजक गतिविधि बढेकोले यस्ता गतिविधि गर्ने माथि राज्यले कडा निगरानी गर्न र दण्डित गर्न माग गरेको हो ।
संघले केही दिनयता केही ब्यक्ति तथा समूहले अभियानको नाममा झापा लगायत देशका विभिन्न स्थानमा समूह तयार गरी हो हल्ला गर्ने गरेको पाइएको र उक्त समूहमा सहकारीका केही ऋणी सदस्यहरु ऋण तिर्न नपर्ने भन्दै भ्रममा परेर अराजक समूहको पछि लागेको देखिएकोले सहकारीका सबै बचत तथा ऋणी सदस्य, कर्मचारी र संचालकलाई भ्रमको पछि नलाग्न संघले विज्ञप्तीमार्फत् अनुरोध गरेको हो ।
एउटा सदस्यले लिएको ऋण सयौं बचत सदस्यको पैसा रहेकोले ऋण नतिर्ने र नतिर्न उर्दी गर्नेले बचतकर्ता सदस्यको बचत जोखिममा पर्ने संघले जनाएको छ । संघले सबै बचतकर्ता सदस्य एकजुट भएर त्यस्ता गतिविधि गर्ने ब्यक्ति वा समूहका विरुद्ध लाग्न आह्वान पनि गरेको छ ।
संघले सहकारीका आम सदस्यको श्रम र पसिनाबाट आर्जित रकम बचतको रुपमा जम्मा गरी सहकारी मार्फत सदस्यलाई लगानी गरिएको कर्जा अराजक समूहले नतिर्न र नतिर्ने उर्दी गरेको जनाएको छ ।
यस्तो कार्य गर्ने ब्यक्ति वा समूह भविष्यमा कुनैपनि कर्जा सुविधा उपयोग गर्न नपाउने गरी कालोसूचिमा पर्ने कुरामा सजग रहन पनि आग्रह गरेको छ ।
सहकारी बिना नागरिकको वित्तीय पहुँच, वित्तीय साक्षरता, एकता र नेतृत्व विकास सम्भव नभएको संघको ठहर छ । संघ–संस्थामा कमी कमजोरी भए, संचालकहरुले बदमासी गरे दण्डनीय रहेकोले सदस्यले साधारणसभा वा कार्यालय मै गएर आवाज उठाउन आग्रह पनि गरिएको छ ।
Comments