Sajhamanch Archive

नारी दिवसमा छात्रा वक्तृत्वकला, २० जना सहभागीमध्ये मोडेलकी इसानी उत्कृष्ट

Published: in शिक्षा, समाज, स्थानीय तह by .

दमक । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दमक नगरपालिकाले आइतबार छात्राहरुबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

‘समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयमा दमक नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका छात्राहरुबीच प्रतियोगिता गराइएको हो ।

२० जना छात्रा सहभागी प्रतियोगितामा दमक ८ स्थित झापा मोडेल अंग्रेजी स्कूलकी इसानी खतिवडा प्रथम हुँदै नगद ७ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । यसैगरी दमक ९ स्थित पाणिनी माद्यमिक विद्यालयकी आयुषा साहा दोस्रो भइन् । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा सहभागी आदर्श बोर्डिङ स्कूलकी दिवा कटुवाल तेस्रो भइन् भने हिमालय माद्यमिक विद्यालयकी तपस्या राईले सान्त्वना स्थान प्राप्त गरिन् । तेस्रो भएकी कटुवालले नगद ३ हजार ५०० रुपैयाँ र सान्त्वना स्थानमा रहेकी राईले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गर्दै दमक नगरपालिकाका प्रमुख राम थापाले नगरको विकासमा महिलाहरुलाई पनि समान सहभागी गराउँदै लगेको बताए । अवसर पाएमा महिला पनि पुरुष सरह हरेक क्षेत्रमा काम गर्न सक्षम भएको उनको भनाई छ ।

कार्यक्रमका अर्का वक्ता नगर उपप्रमुख रेगिना भट्टराईले विश्व इतिहासमा पनि महिलाहरुले आफूलाई अब्बल प्रमाणित गरिसकेकाले मानिसहरु बीच कुनै पनि प्रकारको विभेद गर्न नहुने जिकिर गरिन् ।

दमक नगरपालिका सामाजिक विकास समितिका संयोजक शारदा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार चोमु शेर्पाले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश तिम्सिना, लिड नेपालका चन्चला सुब्बा लगायतले कानूनमा सबै नागरिक समान भनिए पनि अझै विभेद कायम रहेकोले यसलाई हटाउन सामाजिक चेतनाको जरुरी रहेको औंल्याए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *