Sajhamanch Archive

महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको हो ।

जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र आयोजकबीच भएको प्रतिस्पर्धामा आयोजकले ३–० गोलको अन्तरले जुनतारालाई पराजित गरेको हो । प्रतियोगिताको च्याम्पियन बनेको कनकाई महिला फुटबल टिमले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजयी जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले नगद ५० हजारमा चित्त बुझाउनु पर्यो ।

विजयी टिमका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा दाहालले १ गोल गरेकी हुन् । प्रतियोगिताको प्लेयर अफ दि म्याच आयोजक टिमकी अनिता लम्जेल घोषित भइन् । उनलाई नगद २ हजार रुपैयाँ पुरस्कार दिइयो ।

त्यस्तै आयोजक टिमबाटै प्रतियोगितामा सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ दि टुर्नामेन्ट खुस्मा राई, उत्कृष्ट गोलकिप्पर रन्जु राजवंशीले जनही नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजयी तथा उपविजयी हुने टिमलाई कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलिया, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना लगायतले नगद तथा शिल्ड तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि उपसभामुख राना मगरले महिलाहरु समेत खेल क्षेत्रबाट देशका लागि नाम र दाम दुवै कमाउन सक्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरिन् ।

आफूले हुर्काएका अनाथ बालबालिकाले समेत अहिले पनि राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेको भन्दै उचित वातावरण पाएको खण्डमा महिला खेलाडीले जुनसुकै अवस्थामा पनि देशको प्रतिनिधित्व गर्न सक्षम भइसकेको उनको भनाई छ ।

कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रमको सञ्चालन कनकाई खेलकुद प्रतिष्ठानका सचिव मान्ता खरेलले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *