Sajhamanch Archive

राष्ट्रपति चयनका लागि मतदान सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।

निर्वाचन सकिए लगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।

दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । संघीय सांसद ९प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य० र प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन् ।

संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो ।

दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज मतदान सुरु भएको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *