नेपालीपनको संरक्षण नै पर्यटकको आकर्षणः पोखरा महानगर प्रमुख आचार्य
Published:
by .भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् ।
भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएको अवसरमा आज आयोजित कार्यक्रममा उनले भने ‘पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै कारक भएको हो ।’
उनले आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फष्टाउने बताउँदै तीन तहकै सरकारले समान महत्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्र महत्वपूर्ण हिस्सा हुनेसमेत प्रष्ट पारेका छन् । आचार्यले विदेशी पर्यटक नेपाल आउँदा भौतिक पूर्वाधार हेर्न नभएर नेपालको प्रकृतिको यथार्थ स्वरूप हेर्न आउने भन्दै जथाभावी प्राकृतिक संरचना भत्काएर भौतिक पूर्वाधार बनाउन नहुनेसमेत सुझाव दिए ।
सो अन्तरक्रिया कार्यक्रममा इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो, झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी लगायतले धारणा राख्दै पर्यटकीय क्षेत्रसम्म पुग्ने आधारभूत संरचना निर्माणमा बजेट अभावले आशातित काम गर्न नसकेको बताए ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा पोखरा महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष टिकाराज ढकाल, पर्यटन बोर्डका सदस्य मदन आचार्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राखेका थिए । उनीहरुले गण्डकी र कोशी प्रदेशले एक आपसमा पर्यटक आदान प्रदान गर्नसके समग्र देशको अर्थतन्त्रमा महत्वपूर्ण उपलब्धी प्राप्त हुने धारणा राखे ।
अन्तरक्रिया कार्यक्रममा झापाका पत्रकारहरू र पोखराका पत्रकारहरु भौगोलिक अवस्थिति एवम् पर्यटन प्रवर्धनका लागि तीन तहका सरकारले खेल्नुपर्ने भूमिका सुझाएका थिए ।
Comments