अभिमुखीकरण कार्यक्रम आरम्भः अभियान वडा र टोलमा
Published:
by .गौरीगञ्ज । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकामा बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिएका केन्द्रीय सदस्य युवराज बाँस्कोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममार्फत मिसनलाई टोलटोल र तिनका घरद्वारसम्म लगिने योजना अघि सारिएको हो ।
चालू दुई महिने अभियानमा निर्धारित जिम्मेवारीसहित अभियन्ताको रूपमा पार्टीको कोशी प्रदेश कमिटीको तर्फबाट भोजकुमारी नेपाल, शारदा पराजुली, श्याम ढकाल, केदारनाथ रिजाल, विष्णु न्यौपाने, हृदय ठाकुर अभिमुखीकरणमा सहभागी थिए । यस्तै, जिल्ला कमिटी सदस्यहरू नगेन्द्र भण्डारी, टीकाराम बस्नेत, मोनिका राई, कृष्ण महतो लगायतको सहभागितामा गाउँपालिका पार्टी कार्यालयको सभाकक्षमा कार्यक्रम सम्पन्न गरिएको हो ।
अभियानको आवश्यकता, राजनीतिक–बैचारिक महत्त्व र अपेक्षित क्षेत्रमा अपेक्षित ढंगले उठान गर्नुपर्ने कामका सन्दर्भमा केन्द्रीय अभियन्ता युवराज बाँस्कोटाले उपस्थित नेता–कार्यकर्तामाझ समय लिएरै आफ्ना कुरा राखेका थिए ।
एमालेविरुद्ध देशका अरु राजनीतिक शक्तिहरु एक ठाउँम उभिएको प्रसङ्ग उठाउँदै पार्टीको संगठनात्मक पक्षलाई संख्यामा होइन, कम्युनिष्ट आचरण, संस्कार, इमान र निष्ठाका हिसाबले कार्यकर्ताको गुणमा क्षमता वृद्धि–अभिवृद्धि गर्नुपर्नेमा नेता बाँस्कोटाले जोड दिएका थिए ।
उस्तैउस्तै झण्डा भएका कारण कतिपय कम्युनिष्ट पार्टीकै नेतृत्वबाट कम्युनिष्ट आन्दोलन र संगठन बद्नाम भएको सन्दर्भ उठाउँदै नेता बाँस्कोटाले एमालेको संगठित सदस्य भएकोमा गर्वबोध गर्न सक्ने अवस्था बनाउनुपर्ने आजको आवश्यकता रहेको औंल्याएका थिए ।
पालिका कमिटी इञ्चार्ज केदार ढुंगेलले प्रस्ताव गरेको कार्ययोजना अनुसार चैत्र ५ गते गौरीगञ्ज बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमार्फत अखिलको बर्चस्व कायम गर्न पार्टीको सम्पूर्ण शक्ति लाग्नुपर्ने, चैतको पहिलो हप्तासम्ममा जनसंगठनको अभिमुखीकरण र गठन पूनर्गठन आयोजना गरिसक्नुपर्ने निर्णय भएको छ ।
अभियानअन्तर्गत यसअघि सम्पन्न दुईवटा आम निर्वाचनको निर्मम समीक्षा गर्ने, निर्वाचनमा प्राप्त यसको तथ्यगत अवस्था निर्क्यौल गर्ने, पार्टी सदस्यको भौतिक उपस्थिति मै पार्टी सदस्यता नवीकरण गर्ने, विषयगत प्रशिक्षण चलाउने, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धमा सुमधुर बनाउने, पार्टी प्रवेश अभियान चलाउने, अभियानका लागि आमरूपमा जागरण ल्याउने काम अभियानले गर्ने सुनाइएको छ ।
पार्टीप्रति आम नागरिकको अपेक्षाअनुसार संगठनात्मक जीवनमा सुधारका लागि आधारभूत तहका आमनागरिकको रायसुझाव लिइने कार्यक्रम रहेको अध्यक्ष कुँवरको भनाइँ छ ।
गाउँपालिका उपाध्यक्ष पूजन न्यौपानेका अनुसार आधारभूत तहका पार्टी सदस्यको वास्तविक अवस्था, तथ्यांक र समग्र पार्टीको अवस्था पत्ता लगाउनुपर्ने, परिवर्तित सन्दर्भमा नेता कार्यकर्तालाई राजनीतिक–बैचारिक र सैद्धान्तिक विषयउपर प्रशिक्षण सञ्चालन गर्नुपर्ने, स्थानीय तहमा उत्पन्न र हुनसक्ने अन्तर्विरोधको पहिचान गर्नुपर्ने, पार्टी र जनप्रतिनिधिको वैचारिक कार्यदिशा अनुरुप कार्यादेश तयार गर्नुपर्ने, पार्टीमा सम्भावनायुक्त अनुहारको पहिचान गर्ने, पुस्तान्तरणको वातावरण सिर्जना गर्ने र अन्ततः नेता–कार्यकर्ता र कार्यकर्तामा आधारित पार्टी निर्माणको प्रक्रियालाई अझ धेरै सुदृढ तुल्याउनुपर्ने आवश्यता रहेको औंल्याएका छन् ।
Comments