पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको ३८० पृष्ठको आत्मकथा यसैसाता बजारमा आएको छ । यो पुस्तकमा खरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका मानिसले आफूसँग २५ लाख रुपैयाँ मागेको दाबी गरेका छन् । चुनावका बेला विभिन्न व्यापारीहरुबाट उठाएर कांग्रेसलाई ३० लाख र एमालेलाई १० लाख दिएको खरेलको भनाइ छ ।
पुस्तकको २७२ औं पृष्ठमा भनिएको छ- ‘राति करिब ११ बजे फोन आयो । पूर्वडीएसपी नरहरि संग्रौलाले गरेका रहेछन् । उनी मेरै उमेरका हुन् । मेरै टोलबासी, मेरा शुभचिन्तक । उनी एमालेसँग निकट थिए । वामदेवसँग पनि निकट रहेछन् भन्ने थाहा थिएन ।’
पुस्तकमा पूर्वडीएसपी संग्रौलासँगको टेलिफोन सम्वाद उल्लेख गर्दै भनिएको छ-‘एकदुई दिनभित्रै पुलिसमा पहिरो जाँदैछ भन्ने सुनेको छु । ….छिटै २५ लाख तयार गर्नोस् है, होइन भने पुलिसमा पहिरो जान्छ ।’
नेपा-लयले प्रकाशन गरेको खरेलको आत्मकथाभित्र २५ लाख मागिएको भनिए पनि कितावको कभरमा चाहिँ २० लाखको चर्चा गरिएको छ । आत्मकथाको पछिल्लो पानामा भनिएको छ- ‘म तपाईलाई वामदेवकहाँ लगिदिन्छु, तपाई २० लाख तयार पार्नुस् । तपाई नै आइजीपी बन्नुहुन्छ, ग्यारेन्टी ।’
प्रहरी महानिरीक्षकजस्तो सार्वजनिक उच्च ओहोदामा बसेका व्यक्तिले बोलेको, लेखेको वा संकेत गरेको कुरालाई सामान्य मान्न सकिँदैन । यदि तत्कालीन एमालेनिकट भनिएका पूर्वडीएसपी नरहरि संग्रौलाले तत्कालीन आईजीपी खरेलसँग वामदेव गौतमको नाम लिएर २०/२५ लाख रुपैयाँ घुस मागेकै हुन् भने त्यो गम्भीर फौजदारी अपराध हो । यो सामान्य आत्मकथाको विषय मात्रै होइन ।
यसरी घुस माग्ने व्यक्तिलाई खरेलले त्यसबेलै किन कारवाही गरेनन् ? उनी त्यसबेला प्रहरीको उच्च ओहोदामै थिए । तर, घुस मागेकै हो भने यसबारे छानविन नगरेर खरेलले अहिले किताबमा मात्रै किा लेखे ? खरेलको आत्मकथा पढ्दा यस्तो प्रश्न उठ्छ । किनभने, घुस दिनेमात्रै होइन, माग्ने पनि अपराधी नै मानिन्छन् ।
खरेलले आफ्नो पुस्तकमा संग्रौलाले २५ लाख मागेको एक वाक्यमा लेखे पनि यसबारे थप विवरण उल्लेख गरिएको छैन ।
आखिर तत्कालीन आइजीपी खरेलसँग २५ लाख घुस माग्ने पूर्वप्रहरी को थिए भन्ने खरेलले पुस्तकमा खुलाएकै छन् । उनीमाथि छानविन भएर तथ्य पत्ता नलगाउने हो भने यो प्रश्नले वामदेव गौतमलाई समेत लखेटिरहने देखिन्छ ।
शायद यही कारणले हुनुपर्छ, नेकपा नेता गौतमले खरेलको पुस्तक निस्कनासाथ प्रतिक्रिया दिएका छन् । नेता गौतमले खरेलको आत्मकथामाथि टिप्पणी गर्दै भनेका छन्- ‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरें ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ । आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूठो असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’
त्यसो त आत्मकथामा पूर्वआइजीपी खरेलले प्रहरी संगठन भित्रको सिस्टम र गरिमालाई जोगाउन अदालत गएको भनेका छन् । यद्यपि आफ्नो मुद्दा जिताउनका लागि सर्वोच्चका न्यायाधीशहरुसँग विचौलियामार्फत आफूले भनसुन गरेको पनि खरेलले ठाउँ-ठाउँमा खुलाएका छन् ।
तत्कालीन आइजीपी खरेलले कांग्रेसलाई ३० लाख रुपैयाँ र नेकपा एमालेलाई १० लाख रुपैयाँ चुनाव खर्च जुटाइदिएको आत्मकथामा उल्लेख गरेका छन् । खरेलले लेखेका छन्- ‘एमाले नेता माधवकुमार नेपालले उक्त रकम पार्टीको खातामा जम्मा गरिदिनुभएछ ।’
त्यो रकम तत्कालीन उपत्यका अपराध महाशाखाका प्रहरी अधिकारी भरत जीसीमार्फत व्यापारीहरुबाट उठाएर दलका नेतालाई बुझाएको पूर्वआइजीपी खरेलले बताएका छन् ।
तत्कालीन आइजीपी खरेलले विमानस्थलको तस्करी रोक्न आफूले प्रयास गरेको आत्मकथामा लेखेका छन् ।
खरेलले कांग्रेसका नेता र राजासँग आफ्नो सम्बन्ध राम्रो रहेको र माओवादीप्रति कडा रुप अपनाएको उनको आत्मकथामा पढ्न पाइन्छ । कांग्रेस नेता खुमबहादुरलाई भने खरेलले तस्करहरुसँग साँठगाँठ भएको नेताका रुपमा चित्रित गरेका छन् ।
वामदेव गौतम गृहमन्त्री हुँदा उनले माओवादीलाई फाइदा पुर्याएको र यही विषयले उनीसँग आफ्नो अन्तरविरोध सुरु भएको खरेलको तर्क छ । खुमबहादुरसँगको अन्तरविरोध चाहिँ तस्करहरुका कारणले भएको खरेलको तर्क छ ।
विमानस्थलको तस्करीमा शरतसिंहको नाम
त्यसो त पूर्वआइजीपी खरेलले आफ्नो पुस्तकमा त्यसबेलाका अर्का मन्त्री शरतसिंह भण्डारीलाई पनि मुछेका छन् । विमानस्थलमा हुने गरेको तस्करीमा भण्डारीको संलग्नता हुने गरेको आइजीपी खरेलको भनाइ छ ।
त्यसबेला भन्सारका कर्मचारी र मन्त्रीसँग मिलेर प्रहरीहरुले एयरपोर्टमा डलरको तस्करी गर्ने गरेको खरेलले पुस्तकमा लेखेका छन् । र, किताबको २९५ पृष्ठमा खरेलले शरतसिंह भण्डारीको भनाइ उल्लेख गर्दै लेखेका छन्- ‘विमानस्थलमा हुने तस्करीमा आँखा चिम्लिदिनुपर्यो ।’
— अनलाइन खबर
Comments