Sajhamanch Archive

दुर्गापुर महायज्ञमा १५ लाख रुपैयाँभन्दा बढी संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by .

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिरमा सञ्चालन भएको महापुराणमा भक्तजनको उपस्थिति एवम् दाताहरुको सहयोगले अत्यन्तै उत्साहजनक बनाएको छ ।

भौतिक संरचना निर्माण गर्ने र अक्षयकोष वृद्धि गर्ने उद्देश्य लिएर सञ्चालन गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा दिवाकालीन र रात्रीकालीन समयमा भक्तजनको घुइँचो हुने गरेको छ । महापुराण स्थलमा हरेक दिन बेग्ला बेग्लै क्षेत्रका अग्रज व्यक्तित्व साथै दानवीर दाताहरुलाई स्वागत सम्मान गर्न आयोजक समितिलाई भ्याई नभ्याई छ ।

महायज्ञ सञ्चालनको सातौं दिनसम्ममा १५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाइएको छ । तुलादान तर्फ धान र सामुदायिक भवन निर्माण तर्फको सहयोग समेत प्राप्त भइरहेको मूल आयोजक समितिका कोषाध्यक्ष रोहितकुमार भट्टराईले जानकारी दिएका छन् ।

महायज्ञको सफलताको कामना गर्दै नवदुर्गा भगवतीको मन्दिर स्थापनार्थ मन्दिरका संस्थापक एवं जग्गादाता परिवारका तर्फबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक लाख २५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । स्वर्गवासी बुवाआमाको स्मृतिमा पोखरेल परिवारले उक्त घोषणा गरेको हो ।

मन्दिरका संस्थापक एवं जग्गादाता परिवारकै तर्फबाट सामुदायिक भवन निर्माण समितिका संयोजकसमेत रहेका कुमारमणि पोखरेल एवं महायज्ञ मूल आयोजक समिति संयोजक सरला दहाल पोखरेलसहितले परिवारको तर्फबाट एक लाख ३३३ रुपैंयाँ दान गरेका छन् ।

यस्तै पितृहरुको स्मृतिमा शम्भुप्रसाद र सुशिला पोखरेल परिवारबाट ६५ हजार ११६ रुपैयाँ प्राप्त भएको आयोजक समितिले जनाएको छ । श्री नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाको परिवारबाट ५१ हजार ५ रुपैंयाँ प्राप्त भएको छ । यसैगरी, नवदुर्गा मन्दिरका संस्थापक परिवार सकुन्तला खत्रीसहित छोराहरुको तर्फबाट ५१ हजार १०० रुपैयाँ दान प्राप्त भएको जनाइएको छ ।

गत चैत ८ गतेदेखि सुरु भएको महायज्ञ भोलि १६ गते समापन हुनेछ । अनुष्ठानमा पण्डित नारायणशरण काफ्ले प्रमुख वाचक र उपवाचकमा पण्डित सुवास ढकाल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *