आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए
Published:
by .मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् ।
मेचीनगर–७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा जाँच गराएका हुन् ।
मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उनीहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ताभित्र सहुलियतमा मेची नेत्रालयले शल्यक्रिया गरिदिने संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।
आँखा शिविरमा हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंले २०० जनालाई जाँचको आधारमा निःशुल्क चस्मा वितरण गरेको थियो । त्यस्तै स्थानीय सावित्रा मेडिकल हलले पनि आँखा शिविरमा उपस्थित सबैको निःशुल्क ब्लडप्रेशर लगायतको स्वास्थ्य जाँच गरेको थियो ।
आराध्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा आयोजना भएको आँखा शिविरको उद्घाटन मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ओलीले संस्थाले मानिसको सबैभन्दा संवेदनशिल अंग आँखाको स्वास्थ्य सम्बन्धी निःशुल्क जाँच र उपचार गराउने कार्य प्रशंसनीय रहेको बताए । उनले प्रायः सहकारी संस्थाहरुले बचत र ऋणको कारोबार मात्रै गर्ने गरेकोमा आराध्य साकोसले सामाजिक उत्तरदायित्व बहन गर्दै त्यसदेखि बाहिर पनि विभिन्न कार्य गरिरहेकोमा खुसी ब्यक्त गरे ।
संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, लेखा समिति संयोजक नारायण दंगाललगायत टोल विकास समितिका अध्यक्ष लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालन समितिका सदस्य अनुप मेचेले गरेका थिए ।
Comments