व्यक्तिगत गालीगलौज होइन एजेन्डा केन्द्रित बहस गरौं : एमाले अध्यक्ष ओली
Published:
by .काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वस्थ बहसमा उत्रिन भनेका हुन् ।
‘युवामय उपचुनाव !’ भन्दै ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे । ‘वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु’ ओलीले भनेका छन् ।
‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ ।’
Comments