Sajhamanch Archive

नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, शिक्षा by .

विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ ।

एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेका थिए । उनीहरुले अरुको नामा दिएको परीक्षा रद्द भएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले बताए ।

“बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ,” गौतमले भने । उनका अनुसार अब पुनः हुने परीक्षामा सक्कली परीक्षार्थीले पनि सामेल हुन पाउने छैनन् ।

बिहीबार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती नमूना मावि केन्द्रमा ५२ जना नक्कली परीक्षार्थी फेला परेका थिए । कतिपय नक्कली परीक्षार्थी भने पक्राउ परेका छन् । त्यहाँबाट दुईजना भने विद्यालयको पर्खाल नाघेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले यसबारे थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

मोरङमा सातवटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको थियो । ती केन्द्रमा १ हजार ३२ विद्यार्थी परीक्षामा सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *