Sajhamanch Archive

बिर्तामोड नगर कार्यपालिकाका निर्णयहरुः सिरुवा पर्वमा स्थानीय विदा दिइने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी बैशाख ३ गते आइतबार सिरुवा पर्वको अवसरमा स्थानीय विदा दिनेलगायत आधा दर्जन रचनात्मक काम गर्ने निर्णयहरु गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा उक्त दिन विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने निर्णय गरेको जनाइएको छ।

झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । पहिलो दिन पानी सिरुवा, दोश्रो दिन कादो सिरुवा र तेश्रो दिन रंग सिरुवा मनाउने गरिन्छ ।

यस्तै कार्यपालिकाको बैठकले प्रदेश समपुरक कोषको लागि गोकुल जोशी मार्ग निर्माण सम्बन्धी योजनालाई निरन्तरता दिने, सिटिइभिटीद्वारा सञ्चालित बहुप्राविधिक कलेज सञ्चालनका लागि लक्ष्मी आधारभूत विद्यालय वडा नम्बर ७ को नाममा दर्ता कायम रहेको ३ विगाह १९ कठ्टा १० धुर क्षेत्रफलको जग्गा उक्त कलेज सञ्चालनका लागि ३० वर्षको लागि लिजमा लिने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने, राजश्व परिचालनलाई व्यवस्थित बनाउन सम्बन्धित वडाका वडाअध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा बैशाख ५ गतेदेखि घुम्ति सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बिर्तामोड नगरअस्पतालमा रहेको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण गर्नुपर्ने भएकोले हाल रहेको पुरानो भवनलाई नियमानुसार लिलाम विक्री गर्ने, नगरपालिकाको हाल रहेको प्रशासकीय भवन अपुग भएकोले नयाँ भवन निर्माणका लागि शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागमा प्रस्ताव पेश गर्ने, मदरसा तालिमुल कुरान वडा नम्बर ३ र नगर गौरव भिलेज नयाँबस्ती वडा नम्बर ७ का लागि आगामी आर्थिक वर्षदेखि एक–एकजना बाल विकास शिक्षक उपलव्ध गराई कक्षा सञ्चालन गराउने लगायतका निर्णय गरेको छ ।

बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कार्यपालिकाले गरेका निर्णयहरुलाई उत्तरदायी ढंगले कार्यान्वयन गर्न सबैलाई आग्रह गरिन् । जनताले अनुमोदन गरेर पठाएका जनप्रतिनिधिले प्रक्रियागत ढंगबाट निर्णयलाई अक्षरशः पालना गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।

कार्यपालिका बैठकमा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशीको पनि उपस्थिति थियो । बैठकमा बोल्दै सांसद राजवंशीले गतसाल धानमा र यसवर्ष मकै तथा घरहरुमा हावाहुरी तथा असिना पानीले पुर्याएको क्षतिका बारेमा राहतका लागि सदन र सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताएका थिए ।

बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकालाई जोड्ने रिङ्गरोडको अवधारणालाई अगाडि बढाउन समेत सम्बन्धित मन्त्रालयमा पहल भइरहेको सांसद राजवंशीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *