Sajhamanch Archive

हाम्रो नेपाल साकोस केर्खाका सदस्य माझ सहकारी शिक्षा तथा अन्तरक्रिया

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह by .

कमल । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज झापाको केर्खामा सदस्यहरुलाई सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र स्तरीय कार्यक्रम सम्पन्न गरेको हो ।

सहकारीले हाल झापा, मोरङ्ग र इलाम गरी ३ वटा जिल्लाका ३० वटा शाखामार्फत ३३ हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको उक्त अवसरमा जनाइएको थियो । संस्थाले चालू आर्थिक वर्षको आजसम्ममा २२ वटा शाखाका सदस्यहरु माझ सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद गौतमले जानकारी दिएका छन् ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कमल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले पछिल्लो समय सहकारीहरु यसका मान्य सिद्घान्त अनुरुप सञ्चालन नभएका कारण कतिपय सहकारीले सदस्यको विश्वास गुमाउनु परिरहेको औंल्याए । सदस्यलाई बढी सुविधा दिने बहानामा नियम विपरित सेवा सुविधा दिएका कारणले समेत सहकारीमा समस्या सिर्जना भएकोे उनको धारणा थियो ।

सदस्यले सहकारीमा कारोबार गर्दा बढी सुविधाको प्रलोभनभन्दा पनि संस्थाको वित्तीय अवस्था मजबुत भएका संस्था छनौट गरेर त्यस्ता सहकारीमा मात्र कारोबार गर्नुपर्ने वडाध्यक्ष कोइरालाको सुझाव छ ।

सहकारीका सञ्चालकले नियम विपरित कर्जा लिएको र समयमा नतिरेका कारण बचतकर्ताको रकम जोखिममा पर्ने सम्भावना उच्च रहेको बताउँदै वडाध्यक्ष कोइरालाले बचतकर्ताको बचतलाई सुरक्षित गर्नुपर्ने अवस्था आएकोले एउटै उद्देश्य लिएर स्थापना भएका सहकारीहरुबीच एकीकरण हुन आवश्यक रहेकोसमेत सुझाव दिए ।

सो कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्यलाई पुरस्कृतसमेत गरेको छ । संस्थाले ज्येष्ठ सदस्यतर्फ दामोदर काफ्ले र लीलादेवी भट्टराई, उत्कृष्ट बचततर्फ लक्ष्मी भण्डारी, उत्कृष्ट कर्जातर्फ सन्तोष फुयाँल र बाल बचततर्फ विष्णु न्यौपानलाई नगदसहित प्रशंसापत्र प्रदान गरेको छ ।

संस्थाका शिक्षा तथा तालिम उपसमिति संयोजक कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका सहकागीलाई संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले सहजीकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख ज्योति नेपालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *