Sajhamanch Archive

संयुक्त सहकारी कृषि फर्मको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, सहकारी, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरुद्वारा प्रवर्धित बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा २०७५ सालदेखि संयुक्त सहकारी कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । कृषि फर्मले ४० विघाभन्दा बढी क्षेत्रफलमा वर्षे धान, हिउँदे धान, बोरो धान र साइलेजको लागि मकै उत्पादन गरिरहेको छ ।

उक्त साधारण सभाको उद्घाटन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रविन्द्र सुवेदीले गरेका थिए । उद्घाटन मन्तब्यमा सुवेदीले झापा धान सुपरजोन क्षेत्र भएकोले र कमल गाउँपालिकामा सञ्चालित संयुक्त सहकारी कृषि फर्मले धान उत्पादनको क्षेत्रमा काम गरिरहेकोले विगतबाट नै एकापसमा सहकार्य भइरहेको बताए ।

उनले चैतेधान र बोरो धानको विऊ उत्पादन बढाउनका लागि परियोजना कार्यालयबाट हुँदै आएको सहयोग निरन्तर भइरहने सुवेदीले विश्वास दिलाए ।

साधारण सभा उद्घाटन कार्यक्रममा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुली, पत्रकार गोपाल झापाली लगायतले कृषिको क्षेत्रमा सहकारीले गरेको कामको प्रसंशा गरेका थिए ।

साधारण सभाले अध्यक्ष, सचिव र लेखा सुपरिवेक्षण समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन सुझावसहित परित गरेको छ ।

संस्थाका सचिव खगेन्द्रप्रसाद भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *