Sajhamanch Archive

झापाचोक महोत्सवमा खुलेआम जुवाजन्य खेल, प्रहरी प्रशासन मुकदर्शक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

भद्रपुर । भद्रपुर ४ स्थित झापाचोकमा भइरहेको महोत्सवमा नियम विपरित जुवाजन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ ।

प्रथम झापाचोक कृषि तथा सांगीतिक महोत्सव नाम दिएर चैत २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबाजी सम्बद्ध जुवाजन्य खेल भइरहँदा नियामकहरु रमिते बनेको पाइएको हो ।

सगरमाथा फाउण्डेसन भद्रपुर पृथ्वीनगर मूल आयोजक रहेको महोत्सव बिर्तामोडको रिकभरी टिमले ठेक्कामा सञ्चालन गरिरहेको छ । कृषिको नाम दिइएको महोत्सवमा कृषि सम्बद्ध सामग्रीले भने भाडा तिर्न नसक्ने देखेर सहभागिता जनाएका छैनन् । यस्तो रिक्ततालाई जुवाजन्य खेल तमासाले भर्ने प्रयास आयोजकको देखिएको छ ।

मेला महोत्सवमा मदिरा तथा जुवाजन्य खेल पूर्णरूपमा निषेध हुने कानुनी व्यवस्था छ । तर पनि धेरै आम्दानी हुने बहानामा प्रहरी प्रशासनसँग साँठगाँठ गरी आयोजकले भारतीय नागरिक प्रति लक्षित भन्दै मदिरा तथा जुवाजन्य खेल तमासा खेलाउने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

हल्लाका बीच महोत्सव मध्यरातसम्म सञ्चालन हुँदा आसपासका बासिन्दालाई त्यहाँबाट उत्पन्न आवाजले निन्द्रामा समेत असर गरिरहेको गुनासो आउने गरेको छ ।

झापाचोक महोत्वसमा हाउजी लगायत जुवाजन्य तथा मदिराजन्य कारोवारको अनुमति नरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले प्रष्ट पारेका छन् ।

प्रजिअ पोखरेलले मेला महोत्सवमा कानुनले निषेध गरेका काम भए आयोजकलाई कारवाही गरिने जनाएका छन् । उनले रातको ९ वजेसम्म मात्र मेला सञ्चालन गर्न अनुमति दिइएकोले सोभन्दा पछाडि सञ्चालन भएको पाइए कारबाही गरेने समेत जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *