Sajhamanch Archive

प्रदेश स्तरीय महिला गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय, स्थानीय तह by .

बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा भएको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो ।

उसका लागि खेल सुरु भएको ७औं मिनेटमा रजनी ठोकरले पहिलो गोल गरिन् । १२औं मिनेटमा संगीता सुनारले सप्तरीका लागि दोस्रो गोल गरेकी थिइन् ।

दोस्रो हाफको ३७औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ताप्लेजुङले एक गोल फर्काएको थियो । उसका लागि संगीता गुरुङले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।

त्यसपछि २–१ गोल अन्तरले पछि परेको ताप्लेजुङले खेलको ३९औं, ४२औं र ४३औं मिनेटमा लगातार थप तीन गोल खायो । सप्तरीका लागि क्रमशः इशा मगर, रजनी ठोकर र संगीता सुनारले गोल गरेका थिए ।

त्यसपछि ५–१ गोल अन्तरले पछि परेको ताप्लेजुङले खेलको अन्त्य तिर सुधारिएको प्रदर्शन गर्दै सप्तरी विरुद्ध दुई गोल फर्कायो । ताप्लेजुङका लागि ५०औं र ५६औं मिनेटमा सुजता पालुङवाले दुई गोल गरेकी थिइन् । थप गोल गर्न नसक्दा ५–३ गोल अन्तरको पराजय भोग्दै ताप्लेजुङ प्रतियोगिताबाट बाहिरिएको छ ।

आजको खेलमा सप्तरीकी रजनी ठोकर ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाइन् । उनलाई बिर्तामोड–१० का वडाअध्यक्ष दुर्योधन गुरुङ र आयोजक ‘अल इन वान’ क्लबलका अध्यक्ष कृष्णबाबु योञ्जनले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा मंगलबार गाइघाट फुटबल क्लब उदयपुर र धनकुटा फुटबल संघबीच अन्तिम क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *