Sajhamanch Archive

लुटपाटका लागि बीभत्स हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई सार्वजनिक गरेको छ। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी निरु हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो।

हत्यामा विश्वकर्मा एक्लैको संलग्नता रहेको ब्युरोको दाबी छ। लुटपाटको उद्देश्यले हत्या गरेको देखिन आएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। अनुसन्धानका क्रममा सिसिटिभी क्यामेराको फुटेज पछ्याउँदै जाँदा अभियुक्त विश्वकर्मासम्म पुग्न सफलता मिलेको प्रहरीले जनाएको छ। विश्वकर्मालाई शनिबार राति १० बजे झापा पुगी नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेश आचार्यले बताए। आचार्यका अनुसार विश्वकर्माले आफूले हत्या गरेको स्विकारेका छन्।

यस्तो थियो घटना

सरस्वतीनगरमा ‘निरु किचेन एन्ड गिफ्ट स्वभिनर सप’ सञ्चालन गर्दै आएकी पाण्डे यही वैशाख ७ गते दिउँसो आफ्नै पसलमा मृत फेला परेकी थिइन्। शरीरभरि छुरा रोपेर उनको हत्या भएको थियो। निरुकै पसलमा रहेको सिसिटिभी क्यामेरा काम नलाग्ने अवस्थामा रहेका कारण तत्काल प्रहरी घटनाको कुनै निष्कर्षमा पुग्न सकेन। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निरु हत्यामा अनुसन्धान अघि बढाएका थिए।

घटना भएको सात दिनसम्म पनि अपराधी पत्ता लगाउन नसकेपछि प्रहरीको चर्को आलोचना हुन थालेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले १५ गते ब्युरो प्रमुखसमेत रहेकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्यीय अनुसन्धान टोली बनायो। अनुसन्धान टोलीमा प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई पनि राखियो। अनुसन्धान गर्दै जाँदा टोली विश्वकर्मासम्म पुगेको जनाएको छ। ब्युरोका अनुसार विश्वकर्मा केही समय अगाडिसम्म ठमेलको रात्रिकालीन क्लबमा ‘बाउन्सर’का रूपमा कार्यरत थिए।

निरुको हत्या भएको दिन वैशाख ७ गते आसपास विश्वकर्मा झापाबाट आएर भक्तपुरको लोकन्थलीमा साथीको कोठामा बसेको ब्युरोको अनुसन्धानले देखाएको छ। त्यो दिन बिहान १०र११ बजेतिर उनी लोकन्थलीबाट चाबहिलस्थित केएल टावरसम्म पुगेका थिए। केही समय चाबहिलतिर टहलिएका उनी दिउँसो २ बजेतिर निरुको पसलमा छिरेको प्रहरीले जनाएको छ। ‘निरु पाण्डे आचार्यको पसल हुँदै जाने क्रममा उनलाई पसलमा एक्लै देखेको र घाँटीमा लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले पसलमा पसेको देखिन्छ,’ब्युरोका एसएसपी आचार्यले भने, ‘विनोद विश्वकर्माले पसलमा छिर्दा भाँडा किन्ने बहाना बनाएको देखिन्छ। भाँडाकुँडा हेरेर २ बजेर ३३ मिनेटमा उनी एटिएमबाट पैसा झिकेर ल्याउँछु भनेर पसलबाट बाहिरिएका थिए।’ त्यतिबेला पसलमा निरुका बच्चाहरू भएकाले विश्वकर्मा निस्किएको हुन सक्ने प्रहरीले जनायो। त्यसपछि २ बजेर ४४ मिनेटमा विश्वकर्मा फेरि पसल छिरेको एसएसपी आचार्यले बताए। उनले भने, ‘त्यसपछि फेरि भाँडा हेर्ने निहुँमा निरुको मुख थुनेर ढलाएको र त्यही पसलमा रहेको छुरी प्रयोग गरी शरीरका विभिन्न ठाउँमा प्रहार गरेको देखिन्छ।’ हत्यापछि निरुले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको अन्दाजी १२र१३ सय नगद रूपैयाँ निकालेर विश्वकर्मा त्यहाँबाट निस्किएको ब्युरोको दाबी छ।

प्रहरी अनुसन्धानअनुसार पसलबाट निस्किएर विश्वकर्मा भित्रि बाटोबाट रफ्तार फुटसल हुँदै पुनः निरुकै पसलअगाडिको बाटो हुदै गोपीकृष्ण हलनिर आएर टेम्पो चढी चाबहिल चोकमा झरेका थिए। चाबहिल चोकबाट मोटरसाइकल चढेर जडीबुटी पुगेका उनले त्यहाँ पसलमा फ्रुटी किनेर खाएका थिए। त्यसपछि उनी लोकन्थलीस्थित साथीको कोठामा पुगेका थिए। हत्याको उद्देश्य लुटपाट मात्रै रहेको पाइएको ब्युरोले जनाएको छ। ‘अन्य कुनै उद्देश्य देखिएको छैन। लुट्ने उद्देश्यले नै हत्या भएको देखिन्छ,’एसएसपी आचार्यले भने, ‘घटनामा अझै पनि अनुसन्धान भइरहेको छ। अन्य थप केही भए खुल्दै जाला।’ घटनाभन्दा अघि निरु र विश्वकर्माबीच कुनै चिनजान भएको नदेखिएको प्रहरीले जनायो।

विश्वकर्माले लुटेर लगेको भनिएको निरुको सिक्री बेचिसकेको ब्युरोले जनाएको छ। वैशाख १२ गते तारकेश्वर नगरपालिका–१०, हिलेटोलस्थित पाथिभरा सुनचाँदी पसल पुगेर उनले ५५ हजारमा सिक्री बेचेको एसएसपी आचार्यले बताए। उक्त सिक्री प्रहरीले बरामद गरेको छ। प्रहरीले लोकन्थलीस्थित विश्वकर्माका साथीको कोठाबाट उनले बोकेको झोला, सर्ट र जुत्तासमेत बरामद गरेको छ। ती सामानमा रगतजस्तो पदार्थ सुकेको देखिएको प्रहरीले जनायो। सिक्री बेचेको दोस्रो दिन वैशाख १३ गते विश्वकर्मा बनेपा–बर्दिबास हुँदै झापा गएको प्रहरी अनुसन्धानले देखाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *