विराटनगरबाट सुनका गहनासहित २ जना पक्राउ
Published:
by .मोरङ । विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोड (सुन लाइन)बाट प्रहरीले सोमबार राति सुनका गहनासहित २ जनालाई पक्राउ गरेको छ।
सुनसरीको इटहरी–१० का ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाई सुनका गहनासहित सोमबार राति वडा प्रहरी कार्यालय (क)विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठको टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेका उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
डिएसपी दाहालका अनुसार ठाकुरबारी रोडको आरके जेम्स ज्वेलर्समा उनीहरुले गहना बेच्न खोज्दै गर्दा पक्राउ परेका हुन्। रातको समयमा सुन बेच्न खोज्दा शंका लागेपछि कार नियन्त्रणमा लिएर चेक गर्दा पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद गरिएको थियो।
बरामद भएको सुनको गहना ९ तोला ४३ लाल रहेको बताउँदै, डिएसपी दाहालले भने, ‘बरामद गरिएको सुनको बजार मूल्य ११ लाख बढी रहेको छ। उनीहरुको साथबाट ९८ हजार ३ सय रूपैयाँसमेत बरामद गरेको छ। पक्राउ परेकाहरुसँग उक्त गहनाको कुनै पनि बिल नभएको र बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि पक्राउ गरिएको हो।’
प्रहरीका अनुसार उनीहरुले इटहरीमा आफूहरुको सुनका गहना बनाउने कारखान रहेको र विराटनगरका व्यापारीले अर्डर गरे अनुसारको सुनका गहना तयार पारेर बिक्रीका लागि ल्याउने गरिएको बताएका छन्। उनीहरुसँग सुनसँग सम्बन्धित बिल नभएपछि कारोबार शंकास्पद लागेर नियन्त्रणमा लिएको हो। कार, सुनका गहना र नगदसहित उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको डिएसपी दाहालले बताए।
यस अघि गत शुक्रबार विराटनगरबाटै ५४ तोला सुन र ८ केजी चाँदीका बिस्कुट तथा तयारी सामग्रीका साथै भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँसहित २ जना भारतीय र १ जना नेपाली नागरिक पक्राउ परेका थिए।
Comments